जापानमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प


 



काठमाडौं, फागुन २,
जापानमा ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार गएराति ११ बजेर ८ मिनेटमा फुकुसीमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गए पनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको छैन ।  सुनामी अर्थात् समुद्री छालको खतरा नभए पनि अबको एक हप्तासम्म ठूला पराकम्प आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन त्यहाँको मौसमी विभागले आग्रह गरेको छ ।

भूकम्पका कारण अहिलेसम्म जापानमा १ सयभन्दा धेरै व्यक्ति घाइते भएका छन् । भूकम्प जाँदा भाग्ने क्रममा लडेर र सामानहरुमा ठोक्किएर उनीहरु घाइते भएका जापानका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पले भौतिकरुपमा विभिन्न ठाउँमा माटोका ढिस्काहरु खस्नुका साथै सडकहरु पनि भासिएका छन् ।

भूकम्प जानेबित्तिकै मौसम विभाग र अरु सरोकारवालासहितको आकस्मिक बैठक बसेर विशेष टास्क फोर्स निर्माण गरेर उद्धार तथा क्षति न्यूनीकरण गर्ने प्रयास भइरहेको जनाइएको छ । 

प्रकाशित मिति: २ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्