नेकपा प्रचण्ड-माधव समूहले आज विरोध प्रदर्शन गर्दै, २ लाख मानिस उतार्ने दाबी


 


काठमाडौं, माघ २८
नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौँमा बिरोध प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै नेकपा प्रचण्ड माधव समूहले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्दैछ ।

सो समूहले काठमाडौँमा २ लाख जनता, कार्यकर्ता उतार्ने दाबी गरेको छ । यस्तै बिरोध प्रदर्शनमा भाग लिन कार्यकर्ताहरू काठमाडौँ पुगेको र केही पुग्नेक्रम जारी रहेको जनाइएको छ ।

बिहान ११ बजेपछि पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल गरी पाँच ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ ।

ती स्थानबाट निस्कने जुलुसलाइ विभिन्न नेताहरूले नेतृत्व गर्नेछन् । पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् ।

त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन सोमबार काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिएका थिए ।

यसअघि सभा गरेको स्थान भृकुटीमण्डप क्षेत्रमा नै सभा आयोजना हुनेछ । सभालाई शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन् ।

संसद विघटन भएपछि विभाजित बनेको नेकपाका दुबै पक्षले उपत्यका सहित देशका विभिन्न स्थानमा सभा आयोजना गर्दै शक्ति प्रदर्शन गर्दै आइरहेका छन् । हालै प्रधानमन्त्री ओलीले पनि दरबारमार्गमा सभा गरेका थिए ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्