दशैंमा दुर्घटना : सयजनाभन्दा बढीको मृत्यु


 


काठमाडौं, कार्तिक ३

यस वर्षको दशैंमा भएका सडक दुर्घटनामा १ सय १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राजधानीमा ८, इटहरी क्षेत्रमा २३, पथलैया क्षेत्रमा २६, बुटवल क्षेत्रमा २६, कोहलपुर क्षेत्रमा १० र अत्तरिया क्षेत्रमा ८ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको हो ।
प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लका अनुसार दशैंको समयमा सबैभन्दा बढी मोटरसाइकल दुुर्घटना भए । मोटरसाइकल १ सय ९२, जिप र कार १ सय ४६, बस ८६ वटा दुर्घटनामा परेको प्रवक्ता मल्लले बताए ।

दशैंको घटस्थापनाका दिन असोज १५ देखि कोजाग्रत पूर्णिमा असोज २९ गतेसम्म भएका सडक दुर्घटनामा २ सय २१ जना गम्भीर घाइते भएका छन् भने सामान्य घाइेतेको संख्या ४ सय २४ थियो ।  गत वर्ष दशैंको समयमा ५ सय २ वटा दुर्घटना भएका थिए र ती दुर्घटनामा ९२ जनाको मृत्यु भएको थियो । यस वर्ष गत वर्षको तुलनामा ६१ वटा बढी दुर्घटना भए भने दुर्घटनमा मृत्यु हुनेको संख्या पनि गतवर्षभन्दा बढ्यो ।

यस वर्ष मृत्यु हुनेमा ७० जना पुरुष, २० जना महिला, ९ जना बालक, २ जना बालिका रहेका छन् । गत वर्षको दशैंको समयमा मृत्यु हुनेमा ७२ पुरुष, १४ महिला, २ बालक र ४ बालिकाको मृत्यु भएको थियो ।

डिआइजी मल्लका अनुसार दुर्घटना हुनुमा सबैभन्दा बढी चालकको लापरबाही देखिएको छ । ‘७० प्रतिशतबढी चालकको लापरबाहीले दुर्घटना भएका छन्, त्यसपछि तीव्रगति र यात्रुको गल्ती देखिएका छन्’, प्रवक्ता डिआइजी मल्लले भने ।

जीर्ण सडक, पुराना गाडी, क्षमताभन्दा बढी यात्रु, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, ओभरटेक गर्नेसमेतका कारणले दिनदिनै सडक दुुर्घटना भइरहेका छन् । दुर्घटना रोक्न र न्यूनीकरण गर्न सचेतना नै प्रभावकारी बनाउँदै लाने ट्राफिक प्रहरीको तयारी छ । चालकहरू जिम्मेवार भएमा सवारी दुर्घटनाको संख्या ७० प्रतिशतबढी घट्ने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी पवनकुमार गिरीको भनाइ छ ।

दशैंको समयमा ट्राफिक र प्रहरीले यात्रुवाहक गाडीमा चेकजाँच बढाएपनि गतवर्षभन्दा बढी दुर्घटना हुनुलाई सवारी साधनको संख्या थप हुनु वर्षातका कारण जीर्ण सडकसमेत कारक रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्