भारतमा किसान र प्रहरीबीच झडप, ८३ प्रहरी घाइते


 


काठमाडौं, माघ १४
भारतमा किसानको ट्रयाक्टर परेडको क्रममा भएको हिंसामा ८३ प्रहरी घाइते भएको दिल्ली प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घाइते भए प्रहरी अधिकारीमाथि आन्दोलनकारी किसानले हमला गरेको दाबी गरेका छन् । समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका प्रवक्ता ईश सिंघललाई उद्धृत गर्दै भनेको छ, ‘केही स्थानमा प्रदर्शनकारी हिंस्रक भए । हिंसामा प्रहरी अधिकारी घाइते भए र सार्वजनिक सम्पत्तिको पनि हानी भयो ।’

एएनआईले एक भिडियो जारी गरेको छ जसमा लाल किलेमा प्रदर्शनकारी र प्रहरीबीच झडप देखिएको छ । दिल्ली प्रहरीका जोइन्ट कमिश्नर आलोक कुमारले प्रहरीमाथि हमला गर्नेमाथि कारवाही हुने जानकारी दिएका छन् । उता संयुक्त किसान मोर्चले केही असामाजिक तत्वले उनीहरुको आन्दोलनमा घुसपैठ गरेका दाबी गरे ।

किसान मोर्चाले बेलुकाको परेड तत्काल समाप्त गर्ने घोषणा गरिदिए तर उनीहरुको आन्दोलन जारी रहने जानकारी दिए । यस्तै, परेड समाप्त भइसकेपछि पनि केही किसान ट्रयाक्टरमा सवार भएर दिल्लीको लाल किलातर्फ जाँदै गरेको देखिएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्