निखिल अब खलनायक
काठमाण्डौ, कार्तिक २
अभिनेता, निर्माता तथा निर्देशक निखिल उप्रेतीको निजी व्यानर ‘दि निखिल उप्रेती प्रोडक्शन’को तर्फबाट बन्ने गरी नयाँ फिल्म ‘रुद्र’ घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निखिलले आफ्नै लगानी रहने गरी ‘रुद्र’ घोषणा गरे ।
फिल्ममा निखिल खल नायकको भुमिकामा रहनेछन् भने लिड अभिनेतामा नयाँ अनुहार मोडल विश्व शर्मालाई उनले ‘रुद्र’ बाट डेब्यू दिँदैछन् । यस्तै अभिनेत्रीमा पनि युके बस्दै आएकी चार्टर्ड अकाउण्टेनकी विधार्थी साराले यसै फिल्मबाट डेब्यू गर्ने भएकी छिन् ।
निखिलले आफुलाई खलपात्रहरु मन पर्ने भन्दै पहिलो पटक भिलियन बन्न लागेकोमा खुशी पोखे ।
रामजी लामिछानेको निर्देशन रहने फिल्मको निर्माण घोषणा कार्यक्रममा कलाकारहरु पनि मिडियामाझ सार्वजनिक भए । जसको लागी निर्माण टिम मुस्ताङ प्रस्थान गरिसकेको छ ।
फिल्ममा मुस्ताङको जोमसोमसँगै कर्णाली, कोहलपुर र नारायणगढका दृश्यहरु समावेश हुने निखिलले बताए । एक्शन लभस्टोरी जनरामा फिल्म बन्न लागेको निर्देशक लामिछानेले बताए ।
फिल्मका निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतको अभिनय रहनेछ । हिमाल केसीको द्वन्द्व रहने फिल्ममा मुख्य सहायक निर्देशकमा रामशरण पाठक छन् ।
सौरभ लामाले खिच्ने फिल्मलाई गोपाल कायस्थले वितरण गर्नेछन् । फिल्म अर्को बर्षको श्रावणमा प्रदर्शनमा आउने बताईएको छ । फिल्मको प्रोडक्शन डिजाईनरमा मिलन लामा छन् भने सम्पादकको जिम्मेवारी वनिस शाहले लिँदैछन् ।
प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार