प्रचण्ड उडे लगत्तै वामदेव बालुवाटारमा!


 


काठमान्डौ, पाैष २२
नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली उडेलगत्तै उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाइएको छ ।

श्रीमती सीता दाहालको उपचारको निम्ति मुम्बई जान केही घण्टा दिल्ली ट्रान्जिटमा रहनुभएका दाहाल काठमाडौंबाट त्यहाँ नपुगुञ्जेल आकाशमै रहेको समयमा यता गौतमसँगको भेट सकाइएको थियो । गौतमसँग झण्डै एक घण्टा भएको भनिएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल रहेको बताइन्छ ।

सोमवारै नेकपा (बहुमत) को मुख्यालय पेरिसडाँडा,कोटेश्वरमा अध्यक्ष माधव नेपालको अध्यक्षतामा स्थायी समितिको बैठक सम्पन्न भएको छ । अधिकांश सदस्यको उपस्थिति रहेको समितिको बैठक दिउँसो १ बजे शुरु भई साँझ साढे पाँच बजे सम्पन्न भएको थियो । बैठकले विगतको आन्दोलनको समीक्षा गर्दै सफल भएको निचोड पनि निकालेको छ ।

आगामी दिनमा चरणबद्ध आन्दोलनको तयारी गर्दा सबै दलहरुसङ्ग वार्ता गरी संयुक्त आन्दोलनको लागि केन्द्र, प्रदेश र वडासम्म संघर्ष समिति बनाउने, केन्द्रीय संघर्ष समितिको संयोजकमा योगेश भट्टराई तथा सदस्यहरुमा पम्फा भुसाल र गणेश साहलाई तोकिएको छ ।

त्यसैगरी सांगठनिक सुझावका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित समितिमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, भीम रावल,मातृका यादव, लीलामणि पोखरेल, पम्फा भुसाल, वर्षमान पुन, सुरेन्द्र पाण्डे रहनुभएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
जनआस्थावाट ।

प्रकाशित मिति: २२ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्