नेकपाको दुवै पक्षलाई आयोगको पत्र


 


काठमाडौँ, पाैष १८
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अध्यक्ष सम्बोधन गर्दै अलग–अलग प्रकृतिको पत्र लेखेको छ । दाहाल–माधवकुमार नेपाल पक्षलाई आधिकारिकताको मागदाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ।ओली पक्षलाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न भनेको छ ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दुवै पक्षलाई पत्र पठाइएको तर त्यसमा लेखिएको विषयबारे आफूलाई जानकारी नभएको बताए । ‘आयोगको बैठकले गरेको निर्णयका विषयमा दुवै पक्षलाई जानकारी गराइएको छ,’ उनले भने, ‘दुवै पक्षबाट आएका पत्रहरूबारे बुझ्न खोजिएको मात्रै हो । अरू थाहा छैन ।’

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा हठात् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित छ । तर विभाजनले औपचारिकता पाइसकेको छैन । दुवै पक्षले ५ गतेयता लगातार आयोगमा पत्र पठाएका छन् । ती पत्रका आधारमा मात्रै दलको मान्यतासम्बन्धी विवादमा पस्न समस्या भएको आयोगले जनाएको छ । ‘बाहिर विवाद चर्किएको छ । तर दलको आधिकारिकतामा दाबी कुनै पक्षबाट पनि आयोगमा आएन,’ आयोग स्रोतले भन्यो, ‘त्यही भएर दुवै पक्षले आयोगमा लेखेको बेहोराअनुसारकै स्पष्टता र प्रमाण ल्याउन भनिएको छ ।’

दाहाल र नेपाल पक्षका नेताहरूले पुस १० मा आयोग पुगेर नेकपाको आधिकारिकतामाथि दाबी गरेका थिए । दाहालले केन्द्रीय कमिटीको दुई तिहाइ बढी बहुमत आफूहरूसँग रहेको उल्लेख गर्दै आधिकारिकताको विवाद छिटो टुंग्याउन आयोग पदाधिकारीलाई आग्रह गरेका थिए । ‘उहाँहरूले लिखित रूपमा बुझाएको पत्रमा समेत दलको आधिकारिकताको विषय थोरै समेटिएको छ,’ आयोग स्रोतले भन्यो, ‘उहाँहरूले आधिकारिता दाबी गर्न खोज्नुभएको हो भने त्यतिले मात्रै पुग्दैन । ऐनले गरेको व्यवस्थाअनुसार प्रक्रिया पुर्‍याएर मागदाबी गर्नुपर्छ ।’

प्रकाशित मिति: १८ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्