प्रतिनिधिसभा विघटनपछि आज पहिलोपटक राष्ट्रिय सभा बैठक बस्दै


 



काठमाडौं, पौष १७
राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार हरेक ६ महिनामा एकपटक अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि पहिलोपटक राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।

१७ पुसभित्र संसद्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरू औपचारिकतामा मात्रै सीमित हुने गरी बोलाइएको स्रोतको दाबी छ ।

यस्तो बेलामा बस्न लागेको राष्ट्रिय सभामा के छलफल होला भन्नेमा आम चासो छ । संसद् सचिवालयका अनुसार शुक्रबार बस्ने राष्ट्रिय सभाको बैठकमा सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ । त्यसपछि सबै पार्टीका संसदीय दलका नेताले बोल्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको भन्दै सो कदमको आलोचना भइरहेको छ । नेकपाको दाहाल–नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भएको बताउँदै आन्दोलन तथा प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रिय सभामा अहिले नेकपा, कांग्रेस र जसपा तीन दल छन् । संसदीय दलका नेताहरूले प्रतिनिधिसभा विघटनबारे राष्ट्रिय सभामा कुरा उठाउने तयारी गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यसबारे राष्ट्रिय सभामा छलफल गर्न नदिने तयारीमा छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन रिटको सर्वोच्च अदालतले संवैधानिक परिषद्मा सुनुवाइ गरिरहेको छ ।

अधिवेशनमा प्रस्तुति तथा छलफलका लागि विभिन्न विषयवस्तु तय गरिएको संसद् सचिवालयले जनाएको छ । सरकारले यसबीचमा जारी गरका अध्यादेशहरू बैठकमा पेस गरिने संसद् सचिवालयले जनाएको छ ।

हलमा कोभिड–१९ बाट बच्न दुई मिटरको दुरीमा कुर्सी राखिएका छन् । दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, सेनिटाइज्ड गर्नेलगायत सबै तयारी भएको छ ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्