सन् २०२० मा ५० जना पत्रकारको हत्या


 


सन् २०२० मा विश्वभर ५० पत्रकार तथा सञ्चारकर्मीहरुको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ ।   रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको जनाएको छ ।

प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकारहरु बढी प्रभावित भएको औंल्याएको छ । हत्याका घटना विशेष गरेर मेक्सिको, भारत र पाकिस्तानमा भएको भन्दै त्यहाँका घटनाका बारेमा धेरै चर्चा प्रतिवेदनमा गरिएको छ ।

पत्रकार हत्या सम्बन्धी घटनामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकी गत बर्ष सन् २०१९ मा यस्ता घटना ६३ प्रतिशत मात्रै रहेको पनि बोडर्सले जनाएको छ । 

सबैभन्दा धेरै पत्रकारको हत्या मेक्सिकोमा भएको पाइएको छ । मेक्सिकोमा आठ पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । उनीहरुको हत्या विशेष गरेर लागुऔषध ओसारपसार र राजनीतिक घटनासँग सम्बन्धित भएर गरिएको उनले जानकारी दिए । मेक्सिकोमा भएको हत्यामा संलग्नमध्ये कसैलाई कारबाही भएको छैन ।

अफगानिस्तानमा द्वन्द्वका क्रममा पाँच पत्रकारको हत्या भएको छ । शान्ति वार्ताको प्रयास भइरहे पनि अफगानिस्तानमा लामो समयदेखिको द्वन्द्व अझै कायमै छ ।  विश्वभरी अघिल्लो वर्ष सन् २०१९ मा ५३ पत्रकारको हत्या भएको थियो । 

यस संस्थाले लामो समयदेखि बार्षिक यस्ता प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । –एएफपी
 

प्रकाशित मिति: १४ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्