वायु प्रदूषणले भारतमा एकै वर्षमा १६ लाख ७० हजार मानिसको मृत्यु


 


काठमाडौं, पौष १०
वायु प्रदुषणका कारण भारतमा एकै वर्षमा १६ लाख ७० हजार मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । भारतको सरकारी संस्था इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)को प्रतिवेदनअनुसार वायु प्रदुषणका कारण सन् २०१९ मा १६ लाख ७० हजार मानिसको मृत्यु भएको छ ।

भारतको दिल्ली, उत्तर प्रदेश र बिहारको सबैभन्दा ठूलो हिस्सा लामो समयदेखि वायु प्रदूषणको चपेटामा छन् । वर्षाको समयबाहेक भारतका हरियाणा, उत्तर प्रदेश, दिल्ली र बिहारजस्ता प्रान्तका मानिसहरुले वर्षको अधिकांश समय वायु प्रदूषणको मार खेप्दै आएका छन् ।

अध्ययनको क्रममा फोक्सोको समस्याबाट मृत्यु हुने मानिसहरुमध्ये ४० प्रतिशतको कारण वायु प्रदूषण थियो । त्यस्तै मुटुको रोग, मधुमेह र समयभन्दा पहिला जन्मिने नवजात शिशुको मृत्युमा पनि वायु प्रदूषण ६० प्रतिशतसम्म जिम्मेवार पाइएको थियो ।

सन् २०१९ मा भारतमा भएको समग्र मृत्युमध्ये १८ प्रतिशतको कारण वायु प्रदूषण थियो । वायु प्रदूषणको कारण सन् २०१९ मा भारतलाई २६ खर्ब भारु पनि नोक्सानी भएको छ ।

प्रकाशित मिति: १० पुस २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्