कोरोनाभाइरसविरुद्ध अमेरिकाले पायो दोस्रो खोप, मोडर्नालाई अनुमति


 


काठमाडाैँ, पाैष ४
मोडर्ना कम्पनीले निर्माण गरेको कोरोनाभाइरसविरुद्धको खोपले अमेरिकामा आपत्कालिन प्रयोगका लागि अनुमति पाएको छ । अमेरिकामा आपत्कालिन प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो ।

फाइजर र बायोएनटेकको खोपले अनुमति पाएको एक हप्तापछि अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले मोडर्नाको खोपलाई पनि अनुमति दिएको छ । अमेरिकाले मोडर्नाबाट २० करोड डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । तत्काल ६० लाख खोप वितरणका लागि तयार छन् ।

अमेरिकामा हाल विश्वकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने त्यहाँ कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि विश्वकै सबैभन्दा धेरै रहेको छ । हालसम्म अमेरिकामा १ करोड ७२ लाख ६९ हजार ५४२ जना संक्रमित फेला परेको र ३ लाख ११ हजार ५२९ जनाले ज्यान गुमाइसेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

‘जनवरीमा भाइरस फेला परेर डिसेम्बरमा दुईवटा खोप पाउने भनेको ठूलो उपलब्धि हो,’ टिनेसीस्थित मेहारी मेडिकल कलेजका सिईओ डा. जेम्स हिल्ड्रेथले भने । एफडीएका सल्लाहकारको प्यानलले मोडर्नाको पक्षमा २०–० ले मतदान गरेका थिए । उनीहरुका अनुसार १८ वर्ष र सोदेखि माथिका लागि यो खोपको जोखिमभन्दा फाइदा बढी रहेको जिकिर रहेको थियो । यसअघि मोडर्नाको खोप भाइरसविरुद्ध ९४ प्रतिशतसम्म सुरक्षित रहेको बताइएको थियो । बीबीसी

प्रकाशित मिति: ४ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्