‘कि वार कि पार’ को स्थितिमा नेकपा विवाद !


 


काठमाडाैँ, मंसिर १६
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अन्ततः ‘कि वार कि पार’ को अवस्थामा पुगेको छ। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेका छुट्टाछुट्टै प्रतिवेदनले विवादलाई कि वार कि पारको अवस्थामा पु-याएको हो। कार्यकारी अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनलाई ओली पक्षले आरोपपत्र मान्दै त्यसको जवाफ पेस गरेको र दाहाल पक्षले त्यही प्रतिवेदनलाई सचिवलाय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर पास गराउने योजना बनाएपछि लडाइँ वारपार हुन लागेको हो।

‘दुवै नेताले आफ्नो दलिल पेस गर्नुभएको छ। यसलाई सबै हिसाबले टुंगो लगाओस्, पार्टीलाई विवादमुक्त गरोस् भन्ने आम नेताकार्यकर्ताको धारणा छ,’ नेकपा उच्च स्रोतले भन्यो, ‘तर भनेजस्तो सहज छैन। विवादले पार्टीलाई निकै कठिन मोडमा प-याएको छ।’ दुवै पक्ष कुनै न कुनै रूपमा अहिलेको विवाद टुंग्याउने पक्षमा छन्। ओली समूह दाहालको प्रतिवेदन फिर्ता गरे भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्ने पक्षमा रहेको र दाहाल पक्ष बहुमतको निर्णयबाट ओली समूहलाई तह लगाउने अवस्थामा पुगेकै कारण विवाद वारपार हुने चरणमा रहेको स्रोतले जनायो।

‘अध्यक्ष ओली दाहालको प्रतिवेदन फिर्ता होस् भन्ने चाहनुहुन्छ। दाहाल भने सबै कमिटीमा लगेर पास गराउने खेलमा हुनुहुन्छ। त्यसकारण दुवै पक्षले लडाइँलाई वारपार गर्नेगरी आआफ्नो सर्कलमा क्रियाप्रतिक्रिया दिइरहेका छन्। यसले गर्दा अबका बैठकहरू निकै पेचिला हुनेछन्,’ नेकपा स्थायी कमिटीका एक सदस्यले भने। उनका अनुसार ओलीले सधैं धोका दिएकै कारण दाहाल पक्ष अहिले सकेसम्म कमिटीमै गएर वारपार गर्ने अवस्थामा छन्। ‘ओलीले हामीलाई सधैं हेपाहा नीति र व्यवहार गरे अब यसबाट भाग्ने होइन, सामूहिक लडाइँमा सामेल हुने हो भनेर दाहाल पक्षका नेताहरू लाग्नुभएको छ,’ दाहालनिकट एक स्थायी कमिटी सदस्यले भने। ओलीले बहुमत अल्पमत खेलमा नलाग्ने घोषण गरिसकेका छन्। नागरिक दैनिकबाट

प्रकाशित मिति: १६ मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्