अमेरिकामा अब केही दिन भित्रै सर्वसाधारणका लागि कोरोनाको भ्याक्सिन पाइने


 


एजेन्सी, मंसिर ८
अमेरिकामा अब केही दिनभित्रै सर्वसाधारणका लागि कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध हुने सम्भावना जताइएको छ ।

कोरोनाभाइरसका अमेरिकी कार्यक्रमका प्रमुखले डिसेम्बर ११ देखि कोभिड–१९ को भ्याक्सिन पाइने सम्भावना व्यक्त गरेका छन् ।

डाक्टर मोनसेफ सलोईले अमेरिकी नेटवर्क सीएनएनसँगको कुराकानीमा भ्याक्सिनले स्विकृति पाएको २४ घण्टाभित्र यसलाई खोप केन्द्रसम्म पुर्याउने योजना गरिएको जानकारी दिएका छन् ।

यो बयान अमेरिकामा कोरोनाभाइरस संक्रमणमा उच्च वृद्धि भइरहेका बीच आएको हो ।

जोन होपकिन्स युनिभर्सिटीको आँकडा अनुसार अमेरिकामा एक करोड २० लाख कोरोना संक्रमित छन् र २ लाख ५५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यहाँ मृत्युको आँकडा संसारको सबैभन्दा बढी छ ।

औषधी कम्पनी फाइजर र यसको सहयोगी बायोएनटेकले शुक्रबार कोभिड–१९ को आफ्नो भ्याक्सिनको अमेरिकामा आपतकालीन स्विकृतिका लागि एक निवेदन दिएको छ ।

कम्पनीको दाबी अनुसार यसको एक एडभान्स ट्रायलमा यो भ्याक्सिन ६५ वर्ष माथिका ९४ प्रतिशत वृद्ध–वृद्धाको रक्षा गर्दछ ।

फाइजरलाई आशा छ कि सन् २०२० मा उसले ५ करोड डोज र सन् २०२१ मा १.३ अर्ब डोज उत्पादन गर्नेछ । प्रत्येक व्यक्तिले यसको दुई डोज लिनुपर्नेछ ।

भ्याक्सिन अधिकृत गर्नका लागि खाद्य एवं औषधि प्रशासन (एफडीए) को भ्याक्सिन सल्लाहकार समितिले १० डिसेम्बरमा बैठकको आयोजना गर्दैछ ।

डाक्टर सलोईले सीएनएनसँगको कुराकानीमा भ्याक्सिन स्विकार गरेको भोलिपल्छ नै अर्थात् डिसेम्बर ११ वा १२ मा मानिसहरुलाई दिन सुरु गरिने जानकारी दिए ।

उनले भ्याक्सिन प्रत्येक राज्यको जनसंख्याको आधारमा वितरण गरिने पनि जानकारी दिए । राज्यले नै भ्याक्सिन सबैभन्दा पहिले कसलाई दिइने भनेर निश्चित गर्नेछ । फ्रन्ट लाइन वर्कर्स र ज्येष्ठ नागरिकलाई भ्याक्सिन सबैभन्दा पहिले दिइने अनुमान गरिएको छ ।

डाक्टर सलाईले अर्को वर्षको मे महिनासम्म ७० प्रतिशत मानिसहरुलाई यो भ्याक्सिन प्रदान गरिने जसमार्फत हर्ड इम्युनिटी हासिल गर्न सकिने जानकारी दिए ।

अमेरिकी अधिकारीले यसअघि रिजेनेरोनमा विकसित गरिएको एन्टीबडीलाई आपतकालीन स्विकृति दिएका थिए जुन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पनि दिइएको थियो ।

यसैबीच आइतबार जी२० का नेताहरुले आफूहरु संसारभरी कोरोनाभाइरस भ्याक्सिनको उचित वितरण सुनिश्चित गर्नका लागि कुनै कमी नगर्ने कुरामा विश्वास दिलाए ।

प्रकाशित मिति: ८ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्