कोरोनाको कहर: अमेरिकाको विभिन्न राज्यमा निषेधाज्ञा


 


एजेन्सी, मंसिर ७
कोरोना संक्रमितको संख्या दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै गएको अमेरिकामा फेरि प्रतिबन्धहरु सुरू भएका छन् ।

सबैजसो राज्यले मास्कको प्रयोग अनिवार्य गरेका छन् । संक्रमण बढेपछि न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया लगायतका राज्यले निषेधाज्ञा जारी गरेका छन् ।

क्यालिफोर्नियामा शनिबारदेखि रात्रिकालीन निषेधाज्ञा जारी गरेको छ । संक्रमण नियन्त्रणका लागि त्यहाँ राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाइएको छ।

यो प्रतिबन्ध कम्तीमा २१ डिसेम्बरसम्म जारी रहनेछ । त्यसपछि अवस्था हेरेर लम्ब्याउन सकिने त्यहाँका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। संक्रमण बढे क्रिसमसमा पनि निशेधाज्ञा लागू हुनेछ।

क्यालिफोर्नियाका रेस्टुरेन्टलाई ‘होम डेलिभरी’ मात्र गर्न सक्ने आदेश छ । राज्यका ५८ मध्ये ४१ काउन्टी अति प्रभावित छन् । त्यहाँ ‘स्टे एट होम’ आदेश जारी छ। केही काउन्टीले कडा बन्दाबन्दीको आदेश जारी गर्न सक्ने जनाइएको छ।

यसअघि न्यूयोर्कमा पनि रात्रिकालीन निशेधाज्ञा लगाइएको थियो। द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० ले सबै अमेरिकीलाई २६ नोभेम्बरको ‘थ्याङ्स गिभिङ डे’ को बिदामा लामो यात्रा नगर्न आग्रह गरेको छ।

अहिलेसम्म अमेरिकामा एक करोड २४ लाख ४६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । त्यसमध्ये दुई लाख ६१ हजार ७९० जनाको मृत्यु भइसकेको छ । क्यालिफोर्नियामा मात्र ११ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्