महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस


 


काठमाडौं, कार्तिक २७
आगामी ७ देखि १० फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ।

केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पार्टीभित्र देखिएका विवाद मत्थर हुँदै गएपछि कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै महाधिवेशनको मिति परिमार्जन गर्न लागेको हो ।

पछिल्ला केही महिनायता कांग्रेसभित्र सभापतिले गठन गरेका विभाग, भ्रातृ संस्थासहित शुभेच्छुक संस्थाहरूको थप गरिएका म्याद, क्रियाशील सदस्यता वितरण, समायोजनलगायतमा विवाद रहँदै आइरहेको थियो ।

तर, ती विषयमा असन्तुष्ट पक्ष मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूह ब्याक हुने मनस्थितिमा पुगेपछि कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जनको तयारीमा लागेको हो । तर, वरिष्ठ नेता पौडेलले भने सो विषयमा मुख खोलेका छैनन् । यस्तै, सभापति शेरबहादुर देउवा पनि आफैं नबोली महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालालाई खाका बनाउने जिम्मेवारी दिएका छन्।

दुई महामन्त्रीले आफ्नो पक्षका केही नेताहरूलाई राखेर प्रस्ताव तयार पारेपछि २८ कात्तिकमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्नेछन् । महामन्त्री खड्काले नेताहरूबीच अझै पनि धेरै विषयमा छलफल भइरहेको र केही विषय टुंगिन बाँकी रहको बताए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्