ट्रम्पले हार स्वीकार नगर्दैमा शक्तिको हस्तान्तरण रोकिदैन : बाइडेन


 


एजेन्सी, कार्तिक २६
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार नगर्दैमा शक्तिको हस्तान्तरण नरोकिने बताएका छन् ।

मंगलबार गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले कुनै एक ब्यक्तिले नचाहदैमा शक्ति हस्तान्तरण नरोकिने बताएका हुन् । उनले ट्रम्पले चुनावी परिणाम स्विकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा भएको टिप्पणी गरेका छन् ।

ट्रम्पले भने आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । उनले निर्वाचनमा धाधली भएको पनि आरोप लगाउँदै आएका छन् ।

सत्ता सम्हाल्ने तयारीमा रहेका बाइडेनले विश्वका विभिन्न देशका नेताहरुसँग टेलिफोन संवाद गरिरहेका छन् ।

उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनी तथा जर्मन चान्सलर एंगेला मार्केलसहितका नेताहरुसँग कुराकानी गरेका छन् ।

बाइडेनले ती संवादबारे भने, ‘मैले उनीहरुलाई अमेरिका पुनः फर्किएको जानकारी गराएको छु । हामी विश्व मञ्चमा फर्किँदै छौँ ।’

बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले अन्तरिमककालको काम थाल्ने प्रयास गरेका छन् । तर ट्रम्प प्रशासनले अन्तरिमकाललाई अहिलेसम्म सहज बनाएको छैन ।

बाइडेनले जनवरी २० मा राष्ट्रपतिको शपथ लिने तयारी गरेका छन् ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्