काेराेना कहर: बेलायतमा एकैदिन ५ सयभन्दा बढीको मृत्यु


 


लन्डन, कार्तिक २६
बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि एकैदिन यत्तिका धेरै मृत्यु भएको यो नै पहिलो हो । हालसम्म कोरोनाका कारण बेलायतमा ४९ हजार ७७० जनाको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।

यसैगरी २४ घण्टाभित्र २० हजार ४१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १२ लाख ३३ हजार ७७५ जना पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या भने निरन्तर बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ३६६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार २६८ जनालाई उपचारार्थ भेन्टिलेटर बेडमा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १३ हजार ६१७ पुगेको छ । एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्