काेराेनाकाे कहर: सरकारका गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो


 


काठमाडौं, कार्तिक २६
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन्। बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टिमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी, प्राज्ञ र औषधि विज्ञानका हस्ती छन्। कार्यदल गठनपछि विज्ञप्तिमार्फत बाइडेनले भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी लिनेछु।’

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा मंगलबारसम्म २ लाख ३७ जनाको मृत्यु भएको छ भने १ करोड भन्दा बढी बिरामी भएका छन्। अहिलेसम्म कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ। मृत्युका हिसाबले अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो अग्रस्थानमा छन्।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बाइडेनले कोरोना महामारीविरुद्ध लड्न पाँच प्रमुख प्राथमिकता तोकेका छन्। ती प्राथमिकता कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउने, खोप र उपचारमा थप लगानी गर्ने, मास्क प्रयोग अनिवार्य र व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० को सुनिश्चतता गर्ने, स्थिर र प्रमाणमा आधारित नीति बनाउने र डब्लुएचओलाई पुनः समर्थन गर्ने छन्।

अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिले कोरोनाविरुद्ध लड्न बनाएको शक्तिशाली कार्यदल जस्तै नेपालमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल एउटा शक्तिशाली समिति वा कार्यदल बनाउनुपर्छ।

यता नेपालमा पछिल्ला दिनमा परीक्षणमा आएको कमीका कारण संक्रमित संख्यामा पनि कमी आएको छ। तर मृत्युदर भने उकालो लाग्दो क्रममा छ। हिउँद याममा संक्रमण थप बढ्न सक्ने विज्ञान र विज्ञको आंकलन हँुदा पनि सरकारले यो चुनौतीसँग लड्न प्रष्ट कार्ययोजना ल्याउन सकेको छैन। दुई साताअघि विश्व प्रसिद्ध जर्नल नेचरले आफ्नो अनलाइन संस्करणमा ‘किन हिउँदमा कोभिड–१९ महामारी डरलाग्दो हुँदैछ’ भन्ने शीर्षकमा प्रकाशित गरेको लेखमा कोरोना भाइरस र इन्फ्लुयन्जा जस्ता श्वासप्रश्वाससम्बन्धी रोगका कारण भाइरसका संक्रमण हिउँदमा बढ्न उल्लेख छ।

यसैगरी हिउँद याममा वायु प्रदुषण बढ्ने र यसले कोभिड–१९ संक्रमणसँगै मृत्युदर पनि बढाउने विभिन्न अध्ययनले देखाएका छन्। अमेरिकाको हार्भड विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार वायुका अत्यन्त सूक्ष्म कणहरु अर्थात् पिएम २।५ एक माइक्रोग्रामले बढ्दा कोभिड–१९ बाट हुने मृत्युदर ८ प्रतिशतले बढ्ने देखाएको छ। बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अर्को अध्ययनले पनि वायु प्रदुषणले कोभिड–१९ का बिरामीलाई गम्भीर असर पार्ने देखाएको थियो।

नेपालको सन्दर्भमा महामारी सुरु भएदेखि एकपछि अर्को गलत नीतिका कारण कोरोना महामारीविरुद्धको लडाइँ प्रभावकारी हुन सकेको छैन। केही साताअघि कोरोना उपचार र परीक्षणमा शुल्क लिने निर्णय गरेको सरकारले सोमबार सो निर्णय सच्याएको छ। सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचार र परीक्षण निःशुल्क गर्न सरकारका नाममा आदेश गरेपछि सरकारले सो आदेशमा पुनरवलोकन गर्न गरेको निवदेन पनि खारेज गरेको छ। यसबाट सरकार आफ्नो निर्णय सच्याउन बाध्य भएको हो
आजको नागरिक दैनिकबाट

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्