अमेरिकाको नतिजामा अहिलेसम्म किन चुप छन् टर्कीका राष्ट्रपति ?


 


एजेन्सी, कार्तिक २५
अमेरिकाको राष्ट्रपति चुनावको नतिजामा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अहिलेसम्म कुनै पनि टिप्पणी गरेका छैनन् । डेमोक्रेट उम्मेद्वार जो बाइडेनलाई राष्ट्रपति चुनावमा बिजेता मानिँदैछ ।

सन् २०१६ मा अर्दोआनले नतिजाको भोलिपल्टै डोनल्ड ट्रम्पसँग फोनवार्ता गरेका थिए र उनलाई बधाई दिँदै ट्वीट गरेका थिए ।

यसैगरी सन् २०१२ मा जब बाराक ओबामा पुनः निर्वाचित भएका थिए, तब उनले लगत्तै उनलाई बधाई सन्देश पठाएका थिए ।

पछिल्लो चार वर्षमा अर्दोआनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग बलियो सम्बन्ध स्थापित गरेका थिए । उनले रुससँग हतियार खरिद गर्ने र अन्य मतभेद हुँदाहुँदै पनि टर्कीलाई अमेरिकी प्रतिबन्धबाट बचाइरहे ।

राष्ट्रपचि चुनावको क्रममा टर्कीको सरकारतर्फ झुकाव राख्ने मिडियाले बाइडेनविरुद्ध सुर अपनाएको थियो ।

बाइडेनले अर्दोआनको विदेश नीतिको आलोचना गरेका छन् र टर्कीको विपक्षीलाई समर्थन गर्ने बचन पनि दिएका छन् ।

उप–राष्ट्रपति फवात ओकतेले टर्की नयाँ अमेरिकी प्रशासनसँग मिलेर काम गर्ने र नेटोको हितलाई ध्यानमा राख्ने बताए ।

केही विश्लेषकका अनुसार अर्दोआन राष्ट्रपति ट्रम्पलाई कार्यकालका अन्तिम दिनमा निराश गर्न चाहँदैनन् त्यसैले उनी चुप छन् ।

यद्यपि, अहिलेसम्म बाइडेनलाई बधाई सन्देश नपठाउनुले टर्की र अमेरिकाको भविष्यको सम्बन्धमा पक्कै पनि असर पर्ने देखिन्छ । – बीबीसी

प्रकाशित मिति: २५ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्