आज विजयादशमी, टीकाको उत्तम साइत बिहान ८ : ४५ मा


 


काठमाडौँ, असोज २५

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको र टीकाको उत्तम साइत ८ बजेर ४५ मिनेटमा रहेको अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सर्वसाधारणले साइत बाहेक जति खेर टीका थापेपनि हुने गौतमले जानकारी दिए ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्