महानगर र उपमहानगरमा अब सहसचिवको दरबन्दी
काठमाडौं, कात्तिक २१
सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अब सहसचिव हुने व्यवस्था गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणी ९सचिव० रहने व्यवस्था थियो तर अब सहसचिव नै रहने छन् ।
असोज अन्तिममा बसेको मन्त्रिपरिषद्को निर्णयले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव नै रहने निर्णय गरेसँगै अब सबै महानगरपालिकाका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहने भएका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले काठमाडौँबाहेक ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहँदै आएको जनाएको छ ।
त्यस्तै, उपमहानगरपालिकाहरू धरान, इटहरी, जनकपुर, कलैया, जितपुर सिमरा, हेटौँडा, बुटवल, तुलसीपुर, घोराही, नेपालगञ्ज र धनगढी गरी ११ वटै उपमहानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै छन् ।
काठमाडौँ महानगरपालिका पुरानो र देशकै सङ्घीय राजधानीको महानगरपालिका भएकाले काम गर्न थप सहजता होस् भनेर सरकारले सचिवलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो तर काम गर्ने क्रममा सचिवभन्दा सहसचिवबाट अझ सहजता हुने देखिएकाले सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । गोरखापत्र दैनिक
प्रकाशित मिति: २१ कार्तिक २०७७, शुक्रबार