बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन मल नदिने भएपछि…


 


काठमाडौं, कार्तिक १८
बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो ।

धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो । मुख्य धानबाली लगाउने बेलामै देशभर मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्रीले घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बंगलादेशसँग पैँचोमा मल माग्न अनुरोध गरेका थिए ।

कृषिमन्त्री भुसालको अनुरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलब्ध गराउनबारे टेलिफोनमा कुराकानी भएको थियो । भदौ दोस्रो सातामा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच भएको कुरामा पैँचोमा मल उपलब्ध गराउने मौखिक सहमति भएको थियो ।

मौखिक सहमतिमा ५० हजार मेट्रिक टन मल बंगलादेशबाट ल्याउने र सोही परिमाणमा पछि फिर्ता गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बंगलादेशले अहिले मल नदिने भएपछि सोही मललाई जीटुजीमार्फत खरिद गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।

प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्