प्रचण्डले भने– ‘प्रधानमन्त्रीबाट पार्टी विभाजन हुन सक्ने चेतावनी आयो’


 



काठमाडौं, कार्तिक १६
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टि विभाजन हुन सक्ने चेतावनी दिएको बताएका छन् । प्रधानमन्त्री ओलीसंगको भेटपछि आफू निकटका सचिवालयका केही नेताहरुसंग भेट गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयबस्तुबारे जानकारी दिन दाहालले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए ।

‘प्रधानमन्त्रीले सचिवालय बैठक पनि बोलाउदिनँ, हरेक कुरामा बहुतम भन्ने हुँदैन, बैठक बोलाएर बुहमतले निर्णय गरे पनि त्यसलाई मान्दिनँ । कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु । एकै ठाँउ बस्न सकिन्नँ भने अलग–अलग जाऔँ भन्नुभयो ।’ प्रचण्डको ब्रिफिङलाई उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने ‘प्रधानमन्त्री ओलीले पार्टी विभाजन हुन सक्ने संकेत र चेतावनी दुवै दिनुभएको छ ।’

दाहालको ब्रिफिङ सुनेपछि जवाफमा नेताहरुले अहिले कुनै पनि हालतमा पार्टी विभाजन गर्न नहुने र बैठक राख्न पहल गर्नुपर्नेमा जोड दिएका थिए । श्रेष्ठकाअनुार अनुसार जो कोहीले पार्टी निर्णय मान्नपर्ने, पार्टीलाई नीति र विचारका आधारमा तथा विधि र पद्धतिका आधारमा चलाउनुपर्छ भन्ने खुमलटार छलफलको निष्कर्ष थियो ।

यसअघि आइतवार दिउँसो नेकपा महासचिव विष्णु पौडेलले पनि पार्टी एकता संकटमा परेको जानकारी दिएका थिए । पछिल्लो पटक कर्णाली प्रदेशमा उत्पन्न पार्टी विवादले नेकपाका दुई अध्यक्षबीच तित्तmता बढाएको छ । त्यसैकारण ओली र दाहालबीच संवादसमेत रोकिएको थियो ।

प्रकाशित मिति: १६ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्