वैज्ञानिकको चेतावनीपछि बेलायतमा राष्ट्रव्यापी लकडाउन घोषणा


 



कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएपछि रोकथामका लागि बेलायतमा एक महिना लामो लकडाउन घोषणा गरिएको छ ।

बेलायतमा यो दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा हो । ब्रिटिस सरकारले गत २३ मार्चमा पहिलो लकडाउन घोषणा गरेको थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार साँझ पत्रकार सम्मेलनमार्फत नोभेम्बर ५ देखि लकडाउन लागू हुने घोषणा गरेका हुन् ।

झण्डै ४ साता लामो लकडाउन डिसेम्बर २ सम्म कायम रहनेछ । नयाँ नियम लागू भएपछि मानिसहरु शिक्षा, जागिर र खाद्यान्न किनमेलका लागिबाहेक बाहिर निस्कन पाउने छैनन् ।

प्रधानमन्त्री जोन्सनले आ आफ्नो घरमै बसेर राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० र मानिसहरुको ज्यान बचाउन अपिल गरेका छन् । उनले दोश्रो लकडाउनको विकल्प नभएको बताउँदै यदि अहिले सशक्त कदम नचालिए जाडोयाममा धेरैले ज्यान गुमाउने खतरा पनि औंल्याए ।

नयाँ लकडाउनमा अत्यावश्यकबाहेक सबै रिटेल पसल बन्द रहने छन् । फरक घरका मानिसहरुसँग जमघट गर्न प्रतिवन्ध लगाइएको छ । हस्पिटालिटी क्षेत्र अन्तर्गत पब, बार रेस्टुरेन्ट बन्द रहनेछन् । तर तिनलाई टेकवे र डेलिभरी सेवा गर्न भने छुट छ ।

मनोरन्जनस्थल, रिक्रियसन सेन्टर ९जिम०, हेयर ड्रेसर, नङ बनाउने सलुन, कपडा तथा विद्युतीय सामग्रीका पसल सबै बन्द हुनेछन् । शारिरीक अभ्यासका लागि बाहिर निस्कन दिइनेछ ।

सर्वसाधारणलाई घरमै बस्न र आफ्नो क्षेत्रभन्दा बाहिर यात्रा नगर्न आह्वान गरिएको छ । जोखिममा रहेका र ७० वर्षभन्दा माथि उमेरका वृद्धवृद्धालाई बढी सतर्क रहन भनिएको छ ।

दोश्रो लकडाउनमा स्कुल, कलेज र विश्वविद्यालय भने बन्द नगराइने भएको छ । घरैबाट काम गर्न नमिल्ने अवस्थामा कामका लागि कार्यालय जान सकिनेछ । विशेषगरी उत्पादन र निर्माणको काम गर्ने कामदारका लागि बाहिर निस्कन छुट छ । ठूला सुपरमार्केट खुला रहनेछन् ।

बेलायतमा पछिल्लो समय संक्रमण बढ्दै जाँदा क्षेत्रगत रुपमा टियर वान, टु, थ्री गरि फरक तहका प्रतिबन्ध लागू गरिएको थियो । शनिबार मात्रै बेलायतमा कोभिड-१९ संक्रमित संख्या १० लाख ११ हजार नाघेको छ । विगत एक सातायता बेलायतमा दैनिक सरदर २३ हजार कोरोना संक्रमित थपिएका छन् । शनिबार ३ सय २६ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४६ हजार ५ सय ५५ पुगेको छ जुन युरोपमै सबैभन्दा बढी हो ।

बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले थप कडाइ नगरे डिसेम्बर सुरुतिरै अस्पतालका श्य्याहरु भरिने चेतावनी दिएका थिए ।

बीबीसीले प्राप्त गरेको एक दस्तावेजमा थप प्रतिबन्ध लागू नगरिए यहाँ अघिल्लोपटक भन्दा धेरै मानिसको मृत्यु हुने बताइएको थियो । उक्त दस्तावेजमा अहिलेकै अवस्था रहे दैनिक मृत्युदर ४ हजारभन्दा बढी हुनसक्ने उल्लेख छ । वैज्ञानिक सल्लाहकारहरुको समूह ‘सेज ग्रुप’ ले जाडो यामका बेला बेलायतमा कम्तीमा ८५ हजार मानिस मर्न सक्ने अनुमान गरेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्