उनका लागि यही छ, युराेप अमेरिका
काठमाडाैं, असाेज २३
देशमा बिद्यमान राजनैतिक अवस्थालाइ दोष दिदै युबाहरु वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दो छ। नेपालमा पाइएको सिमित रोजगारी र त्यसमा पनि न्यून आयको कारण प्रतिस्पर्धात्मक समाजमा आफ्नो हैसियत बनाउन नसकी बाहिर लाग्ने युबाहरुको लाइन दिनहु बढीरहेको देख्न सकिन्छ ।
जिबिकोपार्जनको लागि आफै केही गर्न सकिन्छ, अरुको मुख ताक्नु वा अर्काको देशमा गुलामी गर्नैपर्ने आवश्यक छैन, भन्ने एक पक्तिको युबा जमात पनि रहेको छ । जसमा आत्मबिश्वास, लगनशिलता अनि देशप्रेमको भावना अाेतपाेत भएकाे पाइन्छ । यस्तै आत्मबिश्वासी युबाहरुको लाइनमा आफुलाइ अग्रस्थानमा राख्न सफल युबा हुन प्रमोद बज्राचार्य ।
आफन्त तथा साथी भाइहरु सबै युरोप अमेरिका गएपनि देशमै केही गरौ भन्ने सोचाइका साथ मिहिनेत गरिरहेका बेलामा उताबाट राम्रो अवसर सहितको भिसाको अफर आएपनि आफ्नै देशमा केही गर्ने महत्वाकांक्षा बोकेका प्रमोद बज्राचार्य एक प्रतिष्ठित आइएनजिओमा खादै गरेको उच्च पदको जागिर छोडेर आफै केही गरौ भन्ने भावनाका साथ केही साथिहरुसग मिलि गोलभेडा खेतिमा होमिएका थिए।
शुरुमा ३ जना मिलेर केही जमिन भाडामा लिइ कुल पुजि ७ लाखलाई पार्टनरशिपमा लगानी गरेर गोल्भिंडा खेती ब्यबसाय शुरु गरेका बज्राचार्यका सहकर्मीले बिचैमा हात झिकेपछी उनी एक्लैले यो ब्यबसाय सम्हाल्दै आएका छन । ३ बर्ष अगाडीदेखि काठमाडौंको दहचोकस्थित १० रोपनी जमिन भाडामा लिएर बेमौसमी गोल्भिंडा उत्पादन गर्दै आएका उनको फार्ममा गोल्भिंडा को लागि टनेल बनाएर खाली रहेको छेउ कुनामा मौसम अनुसारको साग ,काउली, बन्दा ,सिमि बोडी लगायतका तरकारी समेत लगाएर तरकारीको आपूर्ति समेत गर्दै आएका छन ।
उनको ७ लाख लगानी बाट शुरु भएको ब्यबसायको हाल कुल लागत पुजि लगभग ३५ लाखको हाराहारिमा पुगेको छ । आजकाल गोलभेडा खेतीको लहर नै चलेको भएपनी अफ सिजनको लागि गोल्भिंडा उत्पादन गर्दै आएका उनले बजारको लागि समस्या झेल्नुपरेको छैन।
उनका अनुसार अफ सिजनमा गोल्भिंडा उत्पादन गर्न निकै नै जोखिम उठाउनु पर्ने हुन्छ , र म त्यो जोखिममा काम गर्न नै मन पराउँछु। जसको लागि उच्च प्रबृधिको ज्ञान तथा कडा मेहनतको जरुरत पर्ने बताउने बज्राचार्यले यो गोल्भिंडा खेती सम्बन्धि प्राबिधिक ज्ञान केही थाइल्यान्ड तथा इजरायल पुगेर फर्केका साथिहरुबाट सैद्धान्तिक जानकारी लिएको र बाकी ब्यबहारिक ज्ञान युट्युब तथा गुगल बाट जानकारी प्राप्त गर्दै सोही अनुसार आफुले प्रयोग गरेर सफल भएको बताउछन।
सामान्यतया गोल्भिंडा लगाउनु भन्दा पनि यसलाइ आवस्यक पर्ने मलको ब्यवस्थापनमा बढी ध्यान दिनुपर्ने उनको अनुभव छ। जसको लागि विभिन्न प्राकृतिक तथा जैबिक बस्तुहरु मिलाएर उनले आफै मल बनाउने समेत गरेका छन।आफ्नो कडा मेहनतले बार्सिक २० लाख सम्मको आम्दानी लिन सकेको बताउने बज्राचार्यको दैनिक १६ घन्टाको मिहिनेतले यो सम्भव भएको बताउछन।
काठमाडौं असन स्थायी घर भइ हाल बसुन्धरा चक्रपथ बसोबास गर्दै आएका प्रमोद बज्राचार्य १७ किलोमीटर टाढा रहेको आफ्नो गोल्भिंडा फार्ममा बिहान सबेरै पुग्ने गर्छन आफै नर्सरीमा बिरुवा उत्पादन गर्ने देखि लिएर गोल्भिंडाको लागी आबस्यक पर्ने टनेल निर्माण गर्ने,बेर्ना सार्ने तथा नियमित पानी लगाउने सम्मको उनको दिनचर्या रहन्छ। उनले आफ्नो काममा मदत पुर्याउन ३ जनालाई स्थायी रुपले रोजगारी दिलाएका छन भने बेर्ना सार्ने र फल टिप्ने समयमा अन्य १०/१२ मजदुरहरुलाइ पनि काम दिदै आएका छन।
अहिलेको परिबेशमा स्वरोजगार बन्नको लागि युबा पुस्ताहरुले आफूबाट केही सिकुन भन्ने सोचका साथ मिहिनेत गरिरहेका यी युबा कसैले गोल्भिंडा खेतीसम्बन्धी जानकारी लिन चाहेमा आफुले सिकेको कुरालाइ शेयर गर्न पछि हट्दैनन।दैनिक कोहि न कोहि गोल्भिंडा खेतिबारे जानकारी लिन उनको फार्ममा पुग्ने गरेको र आफ्नो अनुभव बारे जानकारी गराउने गरेको बज्राचार्य बताउछन यसो गर्दा आफुलाइ आत्मसंतुष्टि मिल्ने गरेको उनी बताउछन।
प्रकाशित मिति: २३ आश्विन २०७३, आइतबार