कविता-रिक्तता
कविता राई गाउँले
म रित्तो छु
यो रिक्ततामा
एउटा दूरी बढेको छ
तिम्रो र मेरो बिचमा
तिमी छौ÷म छु
बाँकी कोही छैनन्
तिम्रो तातो श्वास–प्रश्वास
मेरै छेउ भएर जान्छ
तिम्रो स्पन्दन
नजिकबाट अनुभव गर्न सक्छु
यद्यपि एउटा दूरी छ
म तिमी नहुनुमा
तिमी म नहुनुमा,
उसो त नजिकै छौँ
बिचमा शून्यता छ
तिमीले केही गरिरहेका छैनौ
म पनि चुपचाप छु
मौनताले यही बिचमा घर बनाइरहेको छ
अस्वाभाविकताहरू बढिरहेका छन्
सामीप्यता तन्किएर निक्कै पर पुगेको छ
बिचमा पारदर्शी पर्दा
तिमीले देखिरहेछौ÷मैले भोगिरहेछु
जसरी देखिरहेछौ तिमीले मलाई
उसैगरी देखिरहेछु मैले तिमीलाई
यद्यपि हामी आलिङ्गनबाट विमुख छौँ,
मनले त स्पर्श गरेकै छ
तिमीले जस्तै
तर कहाँ चल्छ र सधैँ यसैगरी !
रातमा आकाशतिर फर्केर
जून शितल छ भन्नु जस्तै
ताराहरू उज्याला छन् भन्नु जस्तै
जून र ताराहरूको पनि
उस्तै कथा होलान्
हाम्रो जस्तै
अस्तित्वमा रहेर पनि
अस्तित्व बोध गर्न नसक्नु
एकअर्काका हौँ भन्न नसक्नु
जस्तो कि— म रित्तो छु
केही छैन मभित्र
त्यसैले तिमीलाई भर्न खोजिरहेछु
कतै तिमी पो रित्तो छैनौ कि ??
प्रकाशित मिति: २३ आश्विन २०७३, आइतबार