बेल्जियममा संक्रमित बढेपछि संक्रमित डक्टरलाई पनि काममा खटाउने निर्देशन


 


एजेन्सी, कार्तिक ११
कोरोनाभाइरसबाट संक्र्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका कित्सकहरूलाई उनीहरू आफैँ संक्रमित भए पनि काम गर्न भनिएको छ।

उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरू कोभिड-१९ का कारण बिरामी भएका छन् । अहिले १० वटा अस्पतालहरूले कोरोनाभाइरसबाट संक्रमित तर लक्षण नभएका चिकित्सकहरूलाई काम गर्न अनुरोध गरेका छन्।

डा. फिलिप डेभोसले चिकित्सकबाटै बिरामीमा भाइरस सर्ने अकाट्य खतरा रहेको स्वीकार गरे । बेल्जियमको पूर्वी सहरमा तीनमध्ये एकजनालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।

अस्पतालहरूले बिरामीलाई अन्यत्र सारिरहेका छन् र अत्यावश्यकीय बाहेकका शल्यक्रियाहरू रोकेका छन् । स्वास्थ्य मन्त्री फ्र्याङक भ्यान्डेनब्रुकाले यसअघि नै देशमा ’सङक्रमणको बाढी देखिन लागेको’ भन्दै सचेत गराएका थिए ।

युरोपभरका सरकारहरूले कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेका छन् । सोमवार एउटा पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाउन, मानिसहरूलाई घरमै बस्ने आदेश दिन वा आवश्यक परे देशव्यापी लकडाउन नै गर्न पनि युरोपभरका देशहरूलाई सुझाएका थिए ।

गत मार्चमा कोरोनाभाइरसका कारण नराम्ररी प्रभावित इटलीले अहिले व्यायामशाला, सिनेमा घर र स्वीमिङ पुलहरू बन्द गरेका छन्। त्यहाँ आइतवारमात्रै २१,२०० नयाँ संक्रमित देखिएका थिए।

इटली सरकारले सङ्क्रमितको सङ्ख्या बढिरहँदा त्यसले स्वास्थ्य सेवामा दबाव सिर्जना गरेको भन्दै चेतावनी दिएको छ । तर प्रधानमन्त्री जुजेपे कोन्टेले पूर्ण रुपमा लकडाउन गर्दा त्यसले अर्थतन्त्रमा नराम्ररी असर गर्ने बताएका छन् । बीबीसी

प्रकाशित मिति: ११ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्