घाेप्टेभिरमा घिमिरेकाे शव भेटियाे


 


काठमाडाैं, असाेज २२

१४ दिनअघि पूर्व गृहमन्त्री तथा पूर्व मुख्यसचिव माधव घिमिरेसहित त्रिशूली नदीमा हराइरहेका मोहन घिमिरेको शव फेला परेको छ । प्रहरीका अनुसार देवघाटभन्दा केही माथि दुर्घटना भएको ठाउँभन्दा २७ किलोमिटर टाढा दासढुंगा नजिक घुमाउने भन्ने ठाउँमा घिमिरेको शव फेला परेको हो । उनी माधवका काकाका छोरा हुन् ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापनका डिएसपी राजु श्रेष्ठका अनुसार स्थानीयले देखेको सो शवमा रहेको मोहन घिमिरेको चालक अनुमति पत्र (लाइसेन्स) सँगै भेटिएकोले शव चिनिएको हो । नारायणगढबाट सशस्त्र प्रहरीका तथा नेपाल प्रहरीका एक एक प्रहरी निरिक्षक घटनास्थल तर्फ प्रस्थान गरिसकेको तथा लास चाँडै काठमाण्डौ ल्याइने पनि स्रोतले बताएको छ ।

प्रहरी प्रवक्ता हेमन्त मल्लका अनुसार हराइरहेका अन्यको खोजी जारी छ । असोज ९ गते आइतबार सबेरै त्रिशूलीमा खसेको जिपमा पूर्व गृहमन्त्री घिमिरेसहित अन्य दुईजना अझै हराइरहेका छन् । मुक्तिनाथबाट फर्किंदै गर्दा मुग्लिनबाट काठमाडौंतर्फ आउने क्रममा जिप सडकबाट नदीमा खसेको थियो । जिप अहिलेसम्म फेला परेको छैन ।

खसेको स्थानमा पानी करिब ३०–४० मिटर गहिरो भएको र पानी अत्यन्त धमिलो र बहाव अत्यन्त तीव्र भएको कारण सो मोटर पत्ता लाग्न नसकेको उद्धारमा सम्मिलित सशस्त्रको टोलीले बताएको छ । हिजो १३ औं दिन (दूर्घटना परेको दिन समेत गन्दा) को क्रिया सकेर आज पाल्पातर्फ जाँदै गरेका घिमिरेका नजिकका नातेदार सो समाचार बसमै सुनेर शव पाइएको स्थानमा ओर्लने मनस्थितीमा छन् ।

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्