कविता-प्राचीन ग्रन्थ


 


shashi

शशी लुमुम्बू

नीलो आकाशको रङ
एकाएक बदलिएर कालो भयो
फैलियो– आकाशभरि सन्त्रासै–सन्त्रास
नाच्यो– प्रलय प्रकट भएझैँ हाहाकार
रुँदै–चिच्याउँदै ताराहरुको भागदौड मच्चियो
भयभीत बने अटल चन्द्र–सूर्यहरु पनि
कोलाहलमय बन्यो शान्त आकाश
युद्धभूमिझैँ भयो स्निग्ध आकाश….!

यही बेला —
चलमलायो अचानक पृथिवी
र, काप्न थाल्यो देवालीको कूलधामीजसरी
आयो हुनहुनाउँदै भीषण आँधी
र, उडाइलग्यो निरीह बस्तीका छानाहरु
बनाइगयो क्षणभरमै खण्डहर पृथिवी !

त्यही खण्डहरजस्तो पृथिवीको छातीमा
ठोक्किए करोडौँ आँखाहरु
जहाँ, अवशेष–हुरीमा फर्फराइरहेको थियो—
एउटा अद्भूत र रहस्यमय प्राचीन पाण्डुलिपि !

‘ओ माई गड !
के चमत्कार हो यो ?’
कौतुहलमयी आँखाहरुले
तत्कालै घेरियो रहस्यमय पाण्डुलिपि !

कोही तस्बिर खिच्न थाले
पाण्डुलिपिलाई दाहिने पारेर सेल्फी लिन लागे
पुरातात्विक वस्तु उत्खनन् गरेझैँ
कोही खोस्रिन थाले
टेलिभिजन च्यानलहरुले विश्वभर ‘लाइभ’ गरे
सनसनीखेज बन्यो यो घटना !

‘के लेखिएको होला त्यसमा ?
कसको पाण्डुलिपि होला त्यो ?’

निर्निमेष टोलाएर
छेवैमा उभिइरहेको एउटा बूढो मानिसले
थर्थराइरहेका आफ्ना हातहरुले
सुस्तरी स्पर्श ग¥यो त्यसलाई
र, उठाएर छातीमा टाँस्यो
लामो श्वास फे¥यो र चिम्लियो आँखा…!

मानिसहरु आपसमा कानेखसी गर्न थाले
अनेक अनुमान र शङ्का–उपशङ्का गर्न थाले —
‘त्यो पक्कै मूल्यवान् वस्तु हुनुपर्छ
करोडौँ मूल्यमा विक्री हुन सक्छ…!’

एकाएक भीड उत्तेजित बन्यो
र, बूढो मानिसको हातबाट पाण्डुलिपि खोस्न तम्सियो
एउटी भयभीत अमाले बच्चा च्यापेर भागेझैँ
छातीमा पाण्डुलिपि टाँसेर
बेतोडले भाग्न थाल्यो बूढो मानिस
लड्दै–उठ्दै, उठ्दै फेरि लड्दै
डाँडैडाँडा, खोलैखोला, भीरैभीर…!

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्