नेसन्स लिगमा जर्मनीको पहिलो जित


 


जर्मनी, असोज २५ एजेन्सी

युइएफए नेसन्स लिगमा जर्मनीले पहिलो जित दर्ता गरेको छ । तेस्रो चरणको खेलमा युक्रेनलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै जर्मनीले नेसन्स लिगमा पहिलो जित निकालेको हो ।

जर्मनीले नेसन्स लिगको सुरुवाती दुई खेलमा स्पेन र स्वीट्जरल्यान्डसँग समान १–१ गोलको बराबरी खेलेका थिए । जर्मनीको जितमा म्याथिएस जिन्टर र लियोन गोरेट्जकाले गोल गर्दा युक्रेनका रुस्लान मालिनोभ्स्कीले गोल गरेपनि हार टार्न सकेन ।

जितसँगै लिग ‘ए’ को ४ मा रहेको अपराजित जर्मनीले युक्रेनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । जर्मनीको ३ खेलबाट ५ अंक पुगेको छ । समान खेलबाटै युक्रेनको ३ अंक छ । शीर्षस्थानमा रहेको स्पेनको ७ तथा स्वीट्जरल्यान्डको १ अंक छ ।

एनएसके किभमा शनिबार राति भएको खेलमा पाुहना टोली जर्मनीले खेलको २०औं मिनेटमा डिफेन्डर म्याथिएस जिन्टरको गोलबाट खेलमा अग्रता लिएको थियो । योसुवा किम्मिखको क्रसलाई निकलस सुलले फ्लिक गरेको बललाई अर्का डिफेन्डर एन्टेनियो रुडिगरले नियन्त्रण लिदै गरेको क्रसलाई गिन्टरले गोलमा परिणत गरेका थिए ।

त्यसअघि खेलको पाँचौ मिनेटमा सर्ज जिनाब्रीको २० यार्ड टाढाको प्रहारलाई युक्रेनका गोलरक्षक जर्ज बुस्चनले मुस्किलले नियन्त्रणमा लिएका थिए । ३१औं मिनेटमा योसुवा किम्मिखको प्रहारलाई बुस्चनले उत्कृष्ट बचाउ गर्दै दोब्बर अग्रता टारे । ३५औं मिनेटमा सर्ज जिनाब्रीको हेडरलाई गोलरक्षक बुस्चनले अर्को उत्कृष्ट बचाउ गरे ।

४३औं मिनेटमा टोनी क्रुसको प्रहार पोस्टबाट थोरै बाहिरिदा जर्मनीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । पहिलो हाफमा युक्रेनले कुनै पनि समय जर्मनीको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । दोस्रो हाफको शुरुमै जर्मनीले अग्रता दोब्बर पार्‍यो ।

४९औं मिनेटमा लियोन गोरेट्जकाले गोलरक्षक बुस्चनको गल्तीमा गोल गर्न सफल भएका थिए । लुकास क्लोसटमानको क्रसलाई गोलरक्षक बुस्चनले सहजै नियन्त्रणमा लिएर पनि फुस्काएपछि गोरेट्जकाले गोल गर्न सफल भएका थिए । लगत्तै ५०औं मिनेटमा बुस्चनले जुलियन ड्राक्सलरको प्रहारलाई उत्कृष्ट बचाउ गरे ।

५७औं मिनेटमा ड्राक्सलरको दुई प्रहारमा बुस्चन नै बाधक बने । ६०औं मिनेटमा युक्रेनका रस्लान मालिनोभ्स्कीको प्रयासले कप्तान तथा गोलरक्षक म्यानुयल नोयरलाई दवाव सिर्जना भएन । ७६औं मिनेटमा युक्रेनले पेनाल्टीमार्फत गोल गर्दै गोलअन्तर २–१ मा झार्‍यो ।

निकलस सुलले पेनाल्टी बक्समा रोमन यारेमचुकलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रुस्लान मालिनोभ्स्कीले गोल गरे । नोयरले सही दिशा दिएपनि बचाउन सकेन । ८२औं मिनेटमा जिनाब्रीको प्रहारलाई बुस्चनले अर्को उत्कृष्ट बचाउ गरे ।

प्रकाशित मिति: २५ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्