सुआरेजले सुनाए बार्सा छाड्दाको सकस


 


बार्सिलोना, असोज २५ एजेन्सी

बार्सिलोना छोड्नु परेपछिको पीडादायी क्षणका बारेमा लुइस सुआरेजले अनुभव सुनाएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो योजनामा नरहेको सुनाएपछि उरुग्वेली फरवार्डले एट्लेटिको म्याड्रिड जाने निर्णय लिएका थिए ।

‘त्यहाँ मिश्रित खालको अनुभव थियो, जसका कारण कठिन भयो’, उरुग्वेको विश्वकप छनोटका दौरानमा रहेका उनले भने, ‘मलाई थाहा छैन । सहर छाडेर जानुपर्ने अवस्थामा श्रीमती, बच्चाहरु निराश हुन्थे । ६ वर्ष एकै ठाँउमा रहँदा आदत हुन्छ । त्यसमाथि बार्सिलोना जस्तो क्लब छाड्न सहज थिएन ।’

सहर फरक भएपनि स्पेनको जीवन शैली मिल्ने भएकाले उनी एट्लेटिको लागि तयार भएको बताएका छन् । ‘क्लबले मलाई नयाँ ढंगको सुरुवात गर्ने बताएको थियो । एउटा चक्रको अन्त्य भएको थियो’, उनले भने, ‘मैले एक दिन रोएर बिताए । कारण मैले त्यहाँको माहोलमा निकै रमाएको थिए । डेब्यूदेखि ६ वर्षमा त्यहाँ थुप्रै अविष्मरणीय छन् ।’

सुआरेज युभेन्ट्स जाने चर्चा पनि चलेको थियो । तर, स्पेनमा विकल्प हुँदा परिवारका लागि त्यहि राम्रो हुने उनको विश्वास थियो । ‘उनीहरु म फेरि पनि खुसी भएको देख्न चाहन्थे । बार्सिलोनाको २२ जनाको अभ्यासमा म परिन’, उनले स्मरण गरे,’म निराश भएको श्रीमतीले देखेकी थिइन । म टाउको झुकाएर बसेको थिए । उनी फेरि मैदानमा खुसी भएको उनी हेर्न चाहान्थिन । उनले नै मलाई एट्लेटिको जाने निर्णय लिन सहज बनाइन् । त्यसपछि मैले सेकन्ड पनि सोचिन ।’

लिओनल मेस्सीले आफ्नो बर्हिगमनमा क्लब व्यवस्थापनको आलोचना गरेको बारेमा आफुलाई जानकारी भएको बताएका छन् । त्यसले आफुलाई भने आश्चार्यमा नपारेको उनले सुनाए । उनका लागि पनि यो निराशाजनक समय थियो । मैदान भित्र र बाहिर पनि मेस्सी र सुआरेजबीच राम्रो सम्बन्ध थियो ।

प्रकाशित मिति: २५ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्