लेवान्डोस्कीको चार गोलमा बायर्नको शान


 


म्युनिक, असोज १९ एजेन्सी

अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता समेत रहेका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरेपछि जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा बायर्नले हर्था बर्लिनमाथि ४–३ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । हर्थाका जोन कोर्डोवा, म्याथुस कुन्हा र जेसिक नागनकमले गोल गरेपनि हार टार्न सकेन ।

एलिएन्ज एरिनामा आइतबार राति गोलको वर्षा भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले ४०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । उनले सर्ज जिनब्रीको पासमा गोल गर्न सफल भएका थिए । त्यसअघि ३६औ मिनेटमा थोमस मुलरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

५१औं मिनेटमा लेवान्डोस्कीले क्रिस रिचार्ड्सको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पाहुना टोलीले देलमा २–० ले पछि परेपनि दुई गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक मोडा ल्याएका थिए । ५९औं मिनेटमा म्याथुस कुन्हाको पासमा जोन कोर्डोबाले गोल गर्दै हर्थालाई खेलमा फर्काउने संकेत दिएका थिए । ७१औं मिनेटमा क्रेजस्टफको पासमा म्याथुस कुन्हाले गोल गर्दै खेललाई २–२ गोको बराबरीमा ल्याए ।

८५आं मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गरेपछि बायर्नले खेलमा पुनः ३–२ को अग्रता लिन सफल भयो । ८८औं मिनेटमा जेसिक नागनकमले गोल गर्दै खेललाई पुनः बराबरीको अवस्थामा ल्याए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत व्यत्तिगत चौथो गोल गरेपछि बायर्नले ४–३ को रोमाञ्चक जित निकाल्न सफल भयो । पेनाल्टी बक्समा लेवान्डोस्की आफैलाई विपक्षी खेलाडीले फल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गरेको थियो ।

यस जितसँगै बायर्न तीन खेलबाट ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजि हर्था ३ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति: १९ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्