हारबाट जोगियो बार्सिलोना
बार्सा, असोज १९ एजेन्सी
ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होको गोलको सहयोगमा क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।
घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले सेभियासँग एक गोलले पछि परेको स्थितिमा बराबरीको नतिजा निकाल्न सफल भएको हो । सेभियाका लुक डि जोङले गोेल गर्दा कौटिन्होले बराबरी गोल फर्काएका थिए ।
आइतबार राति भएको खेलको आठौं मिनेटमा नै लुक डि जोङको गोलबाट सेभियाले बार्सिलोनाविरुद्ध अग्रता लिन सफल भएको थियो । सुसोले अन्सु फातीलाई बिट गर्दै गरेको क्रसलाई फ्रान्की डि जोङले हेडरमार्फत क्लियर गर्ने प्रयास गरेपनि राम्ररी क्लियर नभएको बललाई पेनाल्टी बक्सभित्रबाट लुक डि जोङले उत्कृष्ट फिनिस गरेका थिए ।
तर, सेभियाको त्यो अग्रता दुई मिनेट पनि टिकेन । १०औं मिनेटमा फिलिपे कौटिन्होले बराबरी गोल फर्काए । कप्तान लियोनेल मेस्सीको चलाखीपुर्ण पासलाई जोडी अल्भाले मिलाईदिएको बललाई कौटिन्होले जाली चुमाएका थिए ।
२१औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्न नसक्दा बार्सिलोनाले अग्रता लिन सकेन । २९औं मिनेटमा अन्सु फातीको प्रहारलाई सेभियाका गोलरक्षक यासिन बोनोउले सहजै नियन्त्रणमा लिए । ३२औं मिनेटमा सेभियाका सुसोको प्रहारले पोस्टको दिशा लिन सकेन । ४३औं मिनेटमा कप्ता लियोनेल मेस्सी गोल नजिक पुगेर चुके ।
५८औं मिनेटमा डिएगो कार्लोसले सर्जी रोबर्टोको क्रसलाई कुनै खतरा हुन दिएन । ६३औं मिनेटमा इन न्यास्रीको क्रसलाई डिएगो कार्लोसले गरेको प्रहार क्रसबारमा लागेर बाहिरिदा सेभिया अग्रता लिनबाट चुक्यो । ७३औं मिनेटमा जेसस नाभासको क्रसमा इन न्यास्रीको हेडर पोस्टबाट थोरै बाहिरियो । ८१औं मिनेटमा कप्तान मेस्सीको २० यार्ड टाढाको प्रहारमा गोलरक्षक यासिन बोनोउ बाधक बने ।
लगत्तै ८२औं मिनेटमा फ्रान्की डि जोङले अवसर पाएपनि सदुपयोग गर्न सकेन । इन्ज्युरी समको थप गरिएको पहिलो मिनेटमा ट्रिन्काहोको प्रहारलाई यासिनले सहजै बचाए । लगत्तै डिएगो कार्लोसले मेस्सीको प्रहारलाई उत्कृष्ट डिफेन्स गर्दै बार्सिलोनाको गोल टारे । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।
बराबरीसँगै अपराजित रहेको बार्सिलोना तीन खेलबाट ७ अंक जोडेर पाँचौ तथा समान ७ अंक नै रहेपनि सेभिया गोलअन्तरमा छैटौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: १९ आश्विन २०७७, सोमबार