विद्यालय खोले कारबाही, प्रशासनले दियो यस्तो चेतावनी
काठमाडौं, असोज १६
आफू खुशी विद्यालय सञ्चालन गरे कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर सरकारी निर्णयको पूर्णः पालना गर्न सचेत गराएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनावश्यक भिडभाड गर्न, स्कुल, कलेजसहित मनोरञ्जनका क्षेत्रहरुलाई सरकारले अझै बन्देज गरेको जनाउँदै निर्णय कार्यान्वयन गर्न परिपत्र गरिएको बताए ।
बुधबार गरिएका परिपत्रमा सरकारले बन्देज लगाएको गतिविधि गर्नु गैरकानुनी भएको भनिएको छ । महामारी बढिरहेको अवस्थामा विद्यालय सञ्चालन गरिन थालेपछि अभिभावकको पनि गुनासो आएको बताउँदै दाहालले सरकारले मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय गरेपछि मात्रै विद्यालय खोल्न आग्रह गरे ।
सरकारको निर्णयविरुद्ध कसैले जबरजस्ती गर्छ भने त्यो कारबाहीको विषय भएको दाहालले बताए ।
प्रकाशित मिति: १६ आश्विन २०७७, शुक्रबार