एउटा ओभरमै रातारात स्टार बने टेवटिया
यूएई, असोज १२ एजेन्सी
आइतबार राती सम्पन्न इन्डियन प्रिमियर लिग आइपिएलको नवौं खेलमा राजस्थान रोयल्सका बायाँ हाते अलराउन्डर राहुल टेवाटियाले अविश्वसनिय प्रर्दशन गरे ।
किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको विशाल लक्ष्य पूरा गर्न राजस्थानका लागि टेवाटिया जिरोबाट हिरो बनेका थिए । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा २ सय २४ रनको लक्ष्य पछ्याएको राजस्थानले तीन बल अगाडिनै ६ विकेटको क्षतिमा पूरा गर्यो । सुरुवाती समय निकै सुस्त इनिङ खेलेका टेवाटियाले एकै ओभरमा पाँच छक्का प्रहार गर्दै जित सम्म पुर्याए ।
विशाल लक्ष्य पछ्याएको राजस्थानले तेस्रो ओभरमै आक्रामक तथा प्रमुख ब्याट्सम्यान जस बटलरलाई ४ रनमा गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका सन्जु स्यामसनले ओपनर स्टिभ स्मिथसँग मिल्दै राम्रो सुरुवात दिए । यी दुई ब्याट्सम्यानले पन्जाबमाथि दबाब बढाए । तर जेम्श निशमको नवौं ओभरको अन्तिम बलमा लङअफमा सट खेल्न खोजेका स्मिथ डिप कभरमा ५० रनमा मोहम्मद शामीबाट क्याच आउट भएपछि पन्जाब हाबी बन्न पुग्यो ।
जुन समय राजस्थानले ९ ओभरमा एक सय रन बनाई सकेको थियो । स्मिथ आउट भएपछि राजस्थानले चौथो नम्बरमा सबैलाई आश्चर्य पार्दै टेवटियालाई पठाएको थियो । अनुभवी रोबिन उथप्पा र युवा खेलाडी रियान परागलाई छोडेर राजस्थानले टेवाटियालाई पठाएको थियो ।
सुरुवाती समय टेवाटियाले रन जोड्नै संघर्ष गरे । नवौं ओभरमा स्पिनर ग्लेन म्याक्सवेलको चार बल सामना गर्दा उनले एक रन मात्रै जोड्न सकेका थिए । निशमको दशौं ओभरमा टेवाटियाले तीन बलमा दुई रन मात्र जोड्न सफल भए । अर्कोतर्फ स्यामसनले आक्रामक ब्याटिङ गर्दै जितको आशा कायम गरि रहेका थिए । तर अर्को साइडबाट त्यहिं अनुसार साथ पाउन सकेका थिएनन् ।
टेवाटियाले म्याक्सवेलको १२ औं ओभरमा तीन बलमा दुई रन मात्र जोड्न सके । १३ औं ओभरमा रबि बिश्रोईको अन्तिम तीन बलमा उनले कुनै रन जोड्न नसकेपछि राजस्थानलाई जितका लागि ४२ बलमा १ सय २ रन बनाउनु पर्ने थियो । टेवाटियाले सुस्त इनिङ खेल्दा स्यामसनमाथि दबाब बढ्दै गएको थियो ।
टेवाटियाले पनि आक्रामक सटका लागि प्रयास नगरेका होईनन् । तर बल नै बुझ्न सकिरहेका थिएनन् । त्यो समय सम्म उनलाई ब्याटिङक्रममा माथि पठाउने निर्णयमाथि प्रश्न उठिसकेको थियो । सामाजिक संजालमा समर्थकहरु हिट विकेटदेखि रिटायर्ट आउट गर्नुपर्ने तर्कसहित आक्रोश पोखिरहेका थिए ।
निशमलाई १४ औं ओभरको पहिलो बलमै स्यामसनले छक्का प्रहार गर्दै ठूलो ओभरमा बदल्ने सम्भावना देखिएको थियो । तर पुनःटेवटियाको साथ पाउन सकेनन् । टेवटियाले १५ औं ओभरको तेस्रो र चोथो बल लगातार डट खान पुगे । टेवाटियाले स्पिनर रबि बिश्रोईलाई पाँचौ बलमा छक्का प्रहार गरेका थिए । उक्त छक्काले उनलाई केहि राहत पुग्यो । आत्माविश्वास बढायो ।
राजस्थानको जितको आशा अझैपनि स्यामसनमै थियो । मैदान छोटो भएको हुँदा चौका र छक्का प्रहार गर्न त्यति कठिन देखिदैन थियो । राजस्थानलाई जितको लागि अन्तिम ३० बलमा ८४ रन आवश्यक थियो । एकतर्फबाट स्यामसनले आशा दिलाई राख्दा अर्कोतर्फबाट टेवटियाले निराश बनाई रहेका थिए ।
१६ औं ओभरमा स्यामसनले म्याक्सवेललाई तीन छक्का प्रहार गरेपछि खेल थप रोमाञ्चक बन्न पुगेको थियो । तर शामीको १७ औं ओभरको पहिलो बलमै स्यामसन राहुलबाट ८४ रनमा समातिन पुगेपछि राजस्थानको आशा टाढियो । अन्तिम १८ बलमा जितको लागि ५१ रन आवश्यक थियो ।
राजस्थानलाई प्रतिओभर १७ रनको औसतमा खेल्नुपर्ने थियो । जुन समय टेवटिया २३ बलमा १७ र रोबिन उथप्पा ३ बलमा ९ रन क्रिजमा थिए ।
१८ औं ओभरमा टेवटियाले आश्चर्यजनक प्रर्दशन गरे । तीव्र गतिका बलर शेल्डन कटरेललाई टेवाटियाले एकै ओभरमा पाँच छक्का प्रहार गर्दै ३० रन बटुल्दै टोलीलाई अविश्वसनिय रुपमा खेलमा फर्काउन सफल भएका थिए । पाँचौ बलमा छक्का प्रहार गर्न चुकेपछि ६ बलमा ६ छक्का प्रहार गर्न चुकेका थिए । एकै ओभरमा ३० रनसँगै राजस्थानलाई जितको लागि १२ बलमा २१ रन चाहिएको थियो ।
उक्त प्रदर्शनपछि सबैले टेवटियामाथि विश्वास राखे । अर्कोतर्फ जोफ्रा आर्चर, टम करन र रियान पराग ठूला सट खेल्न सक्ने ब्याट्सम्यान थिए । १९ औं ओभरमा दुवै टोलीका लागि निकै महतत्त्वपूर्ण थियो । १९ औं ओभरमा शामीलाई जोफ्रा आर्चरले दुई र टेवाटियाले एक छक्का प्रहार गर्दै जित नजिक पुर्याए । अन्तिम बलमा टेवाटिया मयंक अग्रवालबाट क्याच आउट हुन पुगे ।
उनले ३१ बलमा ७ छक्का प्रहार गर्दै ५३ रन बनाए । जुन राजस्थानको लागि जितको टर्निङ प्वाइन्ट बन्यो । अन्तिम ओभरमा तेस्रो बलमा टम करनले चौका प्रहार गर्दै जित दिलाए ।
‘सुरुवाती २० बल मैले खेलेको खेलमा सबैभन्दा खराब थियो । मैले नेट अभ्यासमा राम्रो ठूला सटहरु खेलेको थिए । त्यसैले म आफैंमा विश्वास थियो । तर सुरुवातमा मैले बलरलाई ठूलो सटहरु खेल्न सकिनँ’, टेवटियाले भने ।
‘मैले आक्रामक रुपमा सट खेल्न सक्छु भन्ने टोलीलाई थाहा थियो । मलाई लेग स्पिनरलाई ठूला सट खेल्न भेनर प्रशिक्षकले पठाएका थिए । दुर्भाग्य मैले सकिन । तर मलाई लाग्यो मैले आफूले आफैंलाई विश्वास गर्नुपर्छ अनि छक्का प्रहार गरें । एकै ओभरमा पाँच छक्का साँच्चिकैमा आश्चर्यजनक र उत्कृष्ट क्षण थियो’, उनले भने ।
प्रकाशित मिति: १२ आश्विन २०७७, सोमबार