काँग्रेस विवादः पौडेल समूहको पत्रमा हस्ताक्षर गर्न सिटौला पक्ष असहमत
काठमाडौं, असोज ११
महाधिवेशन पर धकेल्न चाहिरहेका पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ–शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।
विरोधपत्रमा सिटौला समूहको पनि हस्ताक्षर लिने पौडेल समूहको प्रयास थियो । आइतबार विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गरेका थिए ।
तर सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने बताएका छन् । ‘उहाँले आज विरोध पत्रबारे भन्नुभयो, तर मैले मेरो समूहले केही गर्नुपर्यो भने म आफैं भनिहाल्छु नि भनेको छु’ पूर्वमहामन्त्री सिटौलाले भनेका छन्, ‘रामचन्द्र पौडेल समूहको विरोध पत्रमा मेरो समूहले किन हस्ताक्षर गर्नुपर्यो ?’
मुद्दाका आधारमा आफ्नो समर्थन र विरोध हुने भन्दै उनले पौडेल समूहले उठाएको मुद्दाहरुमा आसन्न केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समितिमा सिटौला समूहका उनीसँगै प्रदीप पौडेल, गगन थापा र आमन्त्रित शिव हुमागाई छन् । उनीहरु चारै जनाले विरोध पत्रमा हस्ताक्षर गर्ने छैनन् ।
पौडेल समूहका एक नेताले पनि त्यसलाई स्वीकार गरे । ‘हाम्रो २७ जनाको हस्ताक्षर भइसकेको छ । ३१ बनाउन खोजेका थियौं, सम्भव भएन’ उनले भनेका छन् ।
प्रकाशित मिति: ११ आश्विन २०७७, आइतबार