रियल मड्रिडको संघर्षपूर्ण जित


 


सेभिया, असोज ११ एजेन्सी

स्पेनिस ला लिगाको नयाँ सिजनमा साविकको विजेता रियल म्याड्रिडले पहिलो जित दर्ता गरेको छ । रियल म्याड्रिडले १० खेलाडीमा समेटिएको रियल बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।

पहिलो खेलमा रियल रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो । रियलको जितमा मिडफिल्डर फेडरिको भाल्भेर्डे र कप्तान सर्जियो रोमोसले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका आइसा मान्डी र विलियम कार्भाल्होले गोल गरे ।

स्टेडियो बेनिटो भिल्लामारिन सेभियामा शनिबार राति भएको खेलमा पाहुना टोली म्याड्रिडले खेलको तेस्रो मिनेटमा गोल गरेपनि गोलले मान्यता पाएन । फर्लान्ड मेन्डीको क्रसमा करिम बेन्जेमाले गोल गरेपनि उनी अफसाइड पोजिसनमा रहेका थिए । सातौ मिनेटमा एन्टोनियो सानाब्रियाको प्रहारलाई म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरे ।

१४औं मिनेटमा फेडरिको भाल्भेर्डेको गोलबाट अग्रता लियो । उनले करिम बेन्जेमाको पासमा क्लोज रेन्जबाट वान टचमा उत्कृष्ट फिनिस गरेका थिए । लगत्तै १५औं मिनेटमा कप्तान सर्जियो रामोसको भली सट बाहिरिदा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३५औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । कर्नरबाट आएको पासलाई सर्जियो क्यानालेसले गरेको क्रसलाई आइसा मान्डीले हेडरमार्फत गोल गर्दा कोर्टुवाले रोक्ने कुनै मौका नै पाएन । ३७औं मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । नेविल फेकिरको पासमा कार्भाल्होले पेनाल्टीमा बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

४८औं मिनेटमा इमर्सनले आत्मघाती गोल गरेपछि रियल म्याड्रिडले खेललाई २–२ गोलको बराबरीमा ल्याउन सफल भयो । काउन्टर अट्याकमा फेडरिको भभाल्भेर्डेले दिएको पासलाई ड्यानियल कार्भाजलले क्रस गरेको बललाई बचाउन खोज्दा इमर्सनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

५१औं मिनेटमा करिम बेन्जेमाको प्रहार क्रस बारमा लागेर बाहिरिदा रियल म्याड्रिडले अग्रता लिनबाट चुक्यो । ६७औं मिनेटमा बेटिस १० खेलाडीमा समेटियो । लुका जोभिकलाई फल र अनावश्यक वाद विवादमा उत्रिएपछि रेफ्रीले इमर्सनलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । १० खेलाडीमा समेटिएपनि बेटिसले म्याड्रिडसँग प्रतिस्पर्धात्मक खेल पस्केको थियो । ७६औं मिनेटमा विलियम कार्भाल्होको प्रहारलाई कोर्टुवाले विफल पारे ।

८०औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीको अवसर पायो । मार्क बार्टाले बोर्जा मायोरलमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै म्याड्रिडलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा ८२आं मिनेटमा कप्तान रामोस चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा रियल म्याड्रिडले बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्यो ।

जितपछि म्याड्रिडको दुई खेलबाट ४ अंक पुगेको छ । पराजित रियल बेटिसको ३ खेलबाट ६ अंक रहेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्