बहराइनको राजपरिवारसहितको आरोहण टोली काठमाडौंमा, मनास्लु र लोबुचे हिमाल चढ्ने


 


काठमाडौं, भदौ ३१

हिमाल आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहित १८ जनाको टोली आज बुधबार काठमाडौं आइपुगेको छ।

मनास्लु र लोबुचे हिमाल आरोहणको लागि उनीहरु नेपाल आएका हुन्।

सो टोलीमा रहेका १८ मध्ये तीनजना बेलायती नागरिक हुन् भने बाँकी बहराइनी नागरिक हुन्।

बुधबार विहान साढे ११ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

रोयल गार्ड बहराइनको सो टोली विशेष विमानमार्फत् काठमाडौं आइपुगेको हो।

हिमाल आरोहण गर्ने रोयल गार्ड बहराइनको टोलीको स्थानीय एजेन्सी सेभेन समिट ट्रेक्स हो।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले उक्त टोली डेढ महिनाभन्दा बढी नेपालमै रहने बताएका छन्। उनका अनुसार सो टोलीलाई लोबुचे हिमाल चढ्न दुई हप्ता र मनास्लु चढ्न एक महिना लाग्नेछ।

उनीहरुले ८ हजार १६३ मिटर उचाईको मनास्लु र ६ हजार ११९ मिटरको लोबुचे हिमाल आरोहण गर्नेछन्।

नेपालका गाइडले उनीहरुलाई सहयोग गर्नेछन्।

राजपरिवार सदस्य सहितको टोली पहिलोपटक हिमाल चढ्न लागेको हो। उनीहरुले बहराइनको झण्डा नेपालको सगरमाथामा फहराउन चाहन्छन्।

‘अहिलेको आरोहण सगरमाथा चढ्नको लागि ट्रेनिङ जस्तै हो। मनास्लुको पिकमै पुग्नुपर्छ भन्ने पनि छैन। सके पिकमै पुग्छन् नभए जहाँसम्म सक्छन् त्यहाँ सम्म जान्छन्। अहिले मनास्लुको ७ हजार मिटर उचाई सम्म पुगे उनीहरुले अर्को सिजनमा सगरमाथा आरोहण गर्न पाउँछन्,’ शेर्पाले भने।

नेपालमा हिमाल आरोहण गर्ने टिमलाई बहराइन रोयल गार्डका कमाण्डर तथा बहराइन ओलम्पिक कमिटीका अध्यक्ष नासिर विन हामद अल खालिफाले विदाइ गरेका थिए।

नासिरले नेपाल आउने टिमलाई विदाई गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘रोयल गार्डको एलिट टिमलाई हिमाल आरोहणका लागि विदाइ। उनीहरुले बहराइनको झण्डा र रोयल गार्डको ब्यानर सगरमाथाको शिखरमा फहराउने मिसन पूरा गर्नेछन्। मिसनको पहिलो चरणमा केहि आरोहण यसपटक र अर्को वर्ष सगरमाथा शिखरसम्म पुग्नेछन्। अल्लाहले उनीहरुको रक्षा गरून्।’

बहराइन राजपरिवार सदस्य मोहम्मद हामद मोहम्मद अलखालिफाले हिमाल आरोहणको नेतृत्व गर्नेछन्।

प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्