दिल्ली दंगाको षड्यन्त्रकारी भन्दै पूर्व विद्यार्थी नेता पक्राउ


 


एजेन्सी, भदाैँ २९
दिल्ली दंगा मामिलामा जेएनयूका पूर्व विद्यार्थी नेता तथा ‘युनाइटेड अगेन्स्ट हेट’ का सह–संस्थापक उमर खालिदलाई पक्राउ गरिएको छ । यूनाइटेड अगेन्स्ट हेटको एक बयान अनुसार ११ घण्टासम्म चलेको सोधपुछपछि दिल्ली प्रहरीको विशेष सेलले उमर खालिदलाई उत्तर पूर्वी दिल्लीमा भएको दंगाको मामिलामा ‘षड्यन्त्रकारी’ को रुपमा पक्राउ गरिएको हो ।

यूनाइटेड अगेन्स्ट हेट संस्थाकी वकिल तमन्ना पंकजले बीबीसीसँगको कुराकानीमा उमर खालिदको गिरफ्तारीको पुष्टि गरेकी छिन् । उमर खालिदका पिता सैयद कासिम रसूल इलियासले भने, ‘स्पेशल सेलले मेरा छोरा उमर खालिदलाई राती ११ बजे पक्राउ गरेको हो । प्रहरीले उसलाई दिउँसो १ बजेदेखि सोधपुछ गरिरहेको थियो । उनलाई दिल्ली दंगामा फसाइएको छ ।’

यूनाइटेड अगेन्स्ट हेटले आफ्नो बयानमा भनेको छ, ‘दिल्ली प्रहरीले दंगाको अनुसन्धान भन्दै प्रदर्शनलाई अपराधीकरण गर्ने कोसिस गरिरहेको छ । डर देखाउने यी विभिन्न तरिका अपनाइँदा पनि सिएए र यूएपीएको क्रुर कानूनविरुद्ध लडाईं जारी रहनेछ ।’

संस्थाले दिल्ली प्रहरीले उमर खालिदको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने माग राखेको छ । उमर खालिदको गिरफ्तारीपश्चात् थुप्रै मानिसहरुको उनको समर्थनमा उत्रिएका छन् ।

स्रोतः बीबीसी

प्रकाशित मिति: २९ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्