अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी
काठमाडाैँ, भदाैँ ८
कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण गर्भवती तथा सुत्केरी समयमा अस्पताल पुग्न सकेका छैनन् । नियमित गर्भजाँच नगर्दा र अस्पताल नपुग्दा ज्यान गुमाउनेको संख्या बढ्दो छ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार यसबीच ज्यान गुमाउने सुत्केरीमध्ये ६० प्रतिशतको अस्पताल पुगेको २४ घण्टाभित्र मृत्यु भएको छ । लकडाउन सुरु भएको पाँच महिना (साउन मसान्त) मा देशभर ८० जना सुत्केरीले ज्यान गुमाएका छन् । जेठ, असार र साउनमा मात्रै ४९ जनाको ज्यान गएको छ । त्यसअघि २९ जनाको अस्पतालमा मृत्यु भएको थियो भने दुई जनाको अस्पताल लैजाँदा बाटोमै ज्यान गएको थियो ।
कोरोना संक्रमणको शंकामा अस्पतालले उपचारै नगरी रेफर गर्दा अस्पताल चहार्दाचहार्दै पनि मृत्यु भइरहेको महाशाखाकी चिकित्सक डा.पुण्या पौडेलले बताइन् । उनका अनुसार पछिल्लो समयमा अधिकांश सुत्केरीको रक्तस्रावका कारण मृत्यु भएको छ । ‘गर्भसम्बन्धी जटिलता पैदा भएर अस्पतालको आकस्मिक कक्ष पुग्दा विशेषज्ञले हेर्नुपर्नेमा जुनियरलाई काम लगाएकाले बचाउन नसकिएको गुनासो पनि आइरहेको छ,’ उनले भनिन्, ‘कति अस्पतालमा रक्तस्राव रोक्ने औषधि अक्सिटोसिन तापक्रम मिलाएर नराखिएकाले काम नगरेको पनि पाइएको छ ।’
उनका अनुसार अहिले ५० प्रतिशत अस्पतालमा अक्सिटोसिन छैन, जसले गर्दा सामान्य रक्तस्राव रोक्न नसकेर सुत्केरीको ज्यान गइरहेको छ । विशेषगरी दुर्गमका स्वास्थ्य संस्थामा यस्ता समस्या देखिएको उनले बताइन् । संक्रमणका बीच यातायातको सुविधा सहज नभएसम्म मातृ मृत्युदर कम नहुने बरु बढेर जाने जोखिम रहेको उनले बताइन् । ‘मुख्य त अस्पतालसम्म पुग्ने यातायात सहज नभएर घरमै सुत्केरी हुन खोज्ने र जटिलता पैदा भइसकेपछि अस्पताल लैजाने गर्दा मृत्यु भएको हो,’ उनले भनिन्, ‘कतिलाई गर्भावस्थामा देखिने खतराका संकेतबारे थाहा नहुँदा ज्यान गएको छ ।’
निषेधाज्ञाका कारण थापाथलीस्थित प्रसूतिगृहमा गर्भ जाँच गराउनेको संख्या ४० प्रतिशतले घटेको अस्पतालकी सूचना अधिकारी रानु थापाले बताइन् । ‘लकडाउन खुलेपछि अस्पतालमा गर्भजाँच गराउने महिलाको संख्या बिस्तारै बढ्दै थियो, निषेधाज्ञा जारी भएपछि फेरि ह्वात्तै घट्यो,’ उनले भनिन्, ‘ओपीडीमा दैनिक सात सय जनाजति आउँथे, अहिले मुस्किलले एक सय जना मात्रै आउँछन् ।’ अस्पतालसम्म पुग्ने सवारीसाधन सहज नहुँदा विशेषगरी इँटाभट्टालगायत दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने र सुकुम्बासी गर्भवती बढी मारमा परेको उनले बताइन् । कान्तिपुर दैनिकबाट
प्रकाशित मिति: ८ भाद्र २०७७, सोमबार