‘कोरोना भाइरस दुई वर्षभित्रमा अन्त्य हुन सक्छ’


 


एजेन्सी, भदाैँ ७
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी २ वर्षभित्र नियन्त्रणमा आउने आशा गरेको छ ।जेनेभामा बोल्दै डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्पेनिस फ्लु’ नियन्त्रणमा आउन २ वर्ष लागेको बताए । तर हाल प्रविधिको उच्च विकाससँग यो भाइरस ‘कम समयमा’ नियन्त्रणमा आउन सक्ने उनको भनाइ छ ।

‘पक्कै पनि बढ्दो सम्बन्धका कारण भाइरस फैलन सक्ने पनि सम्भावना बढी छ,’ उनले भने, ‘तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ ।’ भाइरस नियन्त्रणका लागि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यबद्धता आवश्यक पर्ने गेहब्रेयससले बताए ।

सन् १९१८ को स्पेनिस फ्लुका कारण कम्तीमा ५ करोड मानिसको ज्यान गएको थियो भने ५० करोड संक्रमित भएका थिए । कोभिड–१९ को संक्रमणका कारण हालसम्म करिब ८ लाख मानिसले ज्यान गुमाएका छन् भने २ करोड ३० लाख जनामा संक्रमण पुष्टि भइसकेको छ ।

महानिर्देशक गेहब्रेयससले महामारीका बीच व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सँग सम्बन्धित प्रश्नको सम्बोधन गर्दै त्यसलाई अपराधको संज्ञा दिए । ‘कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन,’ गेहब्रेयससले भने ।‘वास्तवमा मेरा लागि पीपीईसँग सम्बन्धित भ्रष्टाचार हत्याजस्तै हो किनकि स्वास्थ्यकर्मीहरूले पीपीईबिना काम गर्नु भनेको हामीले उनीहरूको ज्यान खतरामा पार्नु हो र सेवा गर्ने मानिसको ज्यानसमेत जोखिममा पर्छ ।’

उक्त प्रश्न दक्षिण अफ्रिकासँग सम्बन्धित भए पनि अन्य विभिन्न मुलुकमा समेत पीपीईमा भ्रष्टाचार भएको देखिएको छ । कोभिड–१९ महामारीका समयमा भएको अनियमितताको विरोधमा केन्याको राजधानी नैरोबीमा शुक्रबार प्रदर्शन गरिएको थियो । सार्वजनिक अस्पतालका चिकित्सकहरू आफूहरूलाई तलब नदिइएको तथा पीपीई अभाव भएको भन्दै हडतालमा उत्रेका छन् ।

त्यस्तै डब्लूएचओले मेक्सिकोमा भएको कोभिड–१९ को परीक्षण तथा नियन्त्रणबारे पनि प्रश्न उठाएको छ । मेक्सिकोमा प्रतिएक लाखमा जम्मा ३ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ । जबकि अमेरिकामा प्रतिएक लाखमा १ सय ५० जनाको परीक्षण भएको छ ।

कोभिड–१९ का कारण मेक्सिकोमा मृत्यु हुनेको संख्या ६० हजार छ जुन विश्वकै तेस्रो हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मेक्सिकोमा ५ लाख ५० हजार जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्