मेस्सीले भने ‘बार्सिलोनामै बस्छु भन्न सक्दिनँ’
बार्सिलोना, भदौ ५ एजेन्सी
क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानलाई आफ्नो भविष्य बार्सिलोनामै रहनेमा शंका रहेको बताएका छन् ।
हालको सम्झौताअनुसार मेस्सी क्लबसँग सन् २०२१ को जुनसम्मका लागि अनुबन्धित छन् । तर नयाँ सम्झौता नविकरण छलफललाई बिचमा रोक्दै मेस्सीले सिजन सकिनुअघि नै निर्णय नलिने बताएका थिए । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि मेस्सी सोचमग्न भएका छन् ।
स्पेनिस संचारमाध्यम आरएसी१ का अनुसार मेस्सीले बार्सिलोनामा आफ्नो भविष्य देखेका छैनन् । यद्यपि उनलाई थाहा छ की अहिले नै क्लब छोड्न सक्ने स्थिति भने छैन । मेस्सीले आफू भविष्यबारे गम्भीर रहेको संकेत भने दिएका छन् । सिजन सकिएपछि बिदामा रहेका मेस्सी नयाँ प्रशिक्षक कोम्यानसँग छलफलका लागि नै भनेर बार्सिलोना फर्केका हुन् ।
डच प्रशिक्षक कोम्यानले मेस्सीकै वरपर रहेर टोली निर्माण गर्ने पक्का नै छ । उनले क्लबको योजनामा तल्लिन भएर लाग्ने खेलाडी मात्र आफ्नो टोलीमा राख्ने यसअघि प्रष्ट पारेका छन् । मेस्सीले यसै विषयमा कोम्यानसँग छलफल गर्दै आफू लामो समय बार्सिलोनामा नरहने जानकारी दिएका हुन् ।
यता बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ भने मेस्सीलाई क्लबमै राख्न चाहन्छन् । विश्व फुटबलकै महान मध्यका मेस्सी आफ्नो कार्यकालमा क्लब छाडेर गएको इतिहास लेखाउन उनी पक्कै चाहदैनन् । त्यसैले पनि उनले मेस्सीलाई क्लबमै राख्ने हरप्रयास गरिरहेका छन् । तर मेस्सी नयाँ सम्झौता गर्नेबारे सोचिरहेका छैनन् ।
बार्सिलोनाले नयाँ प्रशिक्षकको आगमनसँगै मेस्सीले आफ्नो निर्णय पुनस् सोच्ने अपेक्षा गरिरहेको छ । यसअघि एर्नेस्टो भालभेर्डे र किके सेटिनसँग मेस्सीको सम्बन्ध राम्रो रहन सकेको थिएन । यसले पनि बार्सिलोनाको प्रदर्शनमा असर परेको थियो । अब कोम्यानसँग सुदृढ सम्बन्ध रहने सके मात्र मेस्सी बार्सिलोना लामो समय रहने सम्भावना हुनेछ ।
मेस्सीले यस ट्रान्सफर विन्डोमा क्लब छाड्न सहज छैन । उनको रिलिज क्लब ७ सय मिलियन युरो छ । दुई क्लबले सहमति गरे केहि कम मूल्यमा पनि मेस्सी अन्यत्र जान पाउनेछन् । बार्सिलोनाले मेस्सीलाई बेचेर उक्त रकमको सदुपयोग गर्दै अन्य खेलाडी किन्न सक्छ । तर मेस्सीको स्तरको खेलाडी जति नै रकम तिरेर पाउन गाह्रो हुने बार्सिलोनाले बुझेको छ ।
प्रकाशित मिति: ५ भाद्र २०७७, शुक्रबार