उद्धार उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा


 


काठमाडाैँ, भदाैँ ३
सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल स्थगित गरेको हो ।

सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमवार गरेको निर्णयले सोमवारै संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपाल वायुसेवा निगमको जहाज रित्तै फर्कियो । कोरोनाको जोखिम बढ्दै गएपछि गएको चैत पहिलो हप्तादेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हजारौं नेपाली स्वदेश फर्कन पाएका छैनन् । उनीहरूले सरकारको पछिल्लो निर्णयबाट विदेशमा अलपत्र श्रमिक थप पीडामा भएको भन्दै विरोध गरिरहेका छन् ।

सरकारले आइतवारदेखि पाँचौं चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको थियो तर निर्णय सार्वजनिक भएको २ दिनमै रद्द भयो । पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिइएको थियो । यी उडानबाट झण्डै ७ हजार नेपाली स्वदेश फर्किन पाउने भनिएको थियो ।सोमवार साँझ विदेशबाट ल्याएर राख्न क्वारेन्टीनको उचित व्यवस्थापन नभएको भन्दै सीसीएमसीले एक्कासि तय भएका उडान रद्द गरेको हो ।

सीसीएमसीले उडान रद्द गरेका विषयमा छलफल भइरहेको र छिट्टै नै उचित निर्णय हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अहिले काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम बढेको र सरकारले विदेशबाट ल्याइएका नेपालीलाई काठमाडौंमै क्वारेन्टीनमा राखेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै घर पठाउने निर्णय गरेकाले पनि उडान स्थगित गर्नुपरेको श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले सरकारको पछिल्लो निर्णयले वैदेशिक रोजगारीमा गएका श्रमिकमाथि ठूलो अन्याय भएकाले यसलाई तुरुन्तै सच्याउनुपर्ने बताए ।

सरकारले जेठ ३२ गतेदेखि चार्टर उडान मार्फत श्रमिककै पैसामा स्वदेश फर्काउने प्रबन्ध मिलाएको छ । साउन ३१ गतेसम्म ४ चरणमा झण्डै ५५ हजार नेपाली स्वदेश फर्किएका छन् । यीमध्ये ७५ प्रतिशत बढी वैदेशिक रोजगारीमा गएका श्रमिक रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसिया र खाडीबाट मात्रै ४३ हजार ४०८ जना फर्किएका छन् ।

कतारमा ३ लाख ७२ हजार नेपाली ठूलो संख्यामा फर्किन चाहेका छन् । हालसम्म ५ हजार ६६८ जना मात्र फर्किएका छन् । साउदी अरबमा ३ लाख ५ हजार नेपाली रहेकोमा ७ हजार ८१७ जना फर्किएका छन् भने १२ हजार बढी अझै स्वदेश फर्किने आशमा छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा २ लाख ७५ हजार श्रमिक रहेकोमा ६७ हजार ३१४ जना स्वदेश फर्किसकेका छन् । मलेसियामा ३ लाख २५ हजार रहेकोमा ३० हजार फर्किने सूचीमा छन् । ७ हजार ६४२ फर्किएका छन् ।

कुवेतमा ५० हजार नेपाली कार्यरत रहेकोमा २४ हजार स्वदेश फर्किन आतुर छन् । ६ हजार ३२० जना मात्र फर्कन पाएका छन् । बहराइनमा ३५ हजार नेपाली रहेकोमा साढे १० हजार फर्किन चाहेका छन् । त्यहाँबाट ९८० जना मात्र फर्काइएको छ ।

ओमानमा फर्किने सूचीमा साढे ३ हजार रहेकोमा नेपाली दूतावासले जनाएको छ । दूतावासले ओमानमा समस्यामा परेकामध्ये प्राथमिकताका आधार विभिन्न चार्टर उडानमार्फत ६७० नेपाली स्वदेश फर्काएको जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्