सफल र शालीन धोनी, जसले रचेका थिए दुर्लभ कीर्तिमान


 


काठमाडौं, भदौ १

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएसँगै भारतीय क्रिकेटकै एक युगको अन्त्य भएको टिप्पणी सर्वत्र भयो । धोनीको क्रिकेट यात्रा आफैमा रोचक पुस्तक जस्तो भएर पनि उनको अन्तर्राष्ट्रिय करिअरको बिदाईले संसार हल्लाएको हो ।

विश्वकै सर्वाधिक सफल कप्तानमध्यका एक धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट आफ्नै पृथक शैलीमा सन्न्यास लिए । ‘क्याप्टेन कुल’ उपनामले परिचित धोनी मैदानभित्र र बाहिर पनि सधैं शालीन रहे । उनले सामाजिक संजालको एक पोस्टमार्फत सबैलाई अचम्मित पार्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिए । संयोगवश धोनीको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो र अन्तिम इनिङको अन्त्य आउटबाटै भयो ।

पछिल्लोपटक धोनीले गतवर्ष इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपमा न्युजिल्यान्डविरुद्ध सेमिफाइनल खेल खेलेका थिए । उक्त खेलमा मार्टिन गुप्टिलले डाइरेक्ट थ्रोमा रन आउट गरेपछि धोनी ५० रनमा पेभिलिएन फर्केका थिए । त्यो रन आउटनै भारतका लागि धोनीको अन्तिम खेल बन्न पुग्यो । उक्त खेलमा पराजित भएपछि भारतको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो ।

शान्त र मौन स्वभावका धोनी १३ महिनासम्म आफ्नोबारे केहि बोलेनन् । धोनीले कुन बेला कस्तो निर्णय लिन्छन् त्यो कसैलाई थाहा हुँदैन । टेष्टबाट पनि सन् २०१४ मा एक्कासी सन्न्यास लिएका थिए । सन् २०१७ मा भारतीय सिमित ओभरको कप्तानी छाडेका थिए ।

सन् २००४ मा धोनीले बंगलादेशविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए । तर पहिलो खेलमै धोनी शून्यमा रन आउट हुन पुगे । सौरभ गांगुलीलाई धोनीको क्षमता र प्रतिभा बुझेकै कारण मौका दिए । त्यसैले धोनीले आफ्नो पाँचौ खेलमा सानदार शतक प्रहार गरेका थिए । धोनी त्यो बेला अहिले जस्ता भने थिएनन् ।

त्यसबेला धोनीले लामो कपाल पालेका थिए । सन् २००५ मा धोनीले अप्रिलमा पाकिस्तानविरुद्ध १ सय ४८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । सन् २००५ अक्टोबरमा धोनीले जयपुरमा श्रीलंकाविरुद्ध १ सय ४५ बलमा १५ चौका र १० छक्का सहित १ सय ८३ रनमा अविजित रहँदै विकेटकिपरको रुपमा ओडिआईमा सर्वाधिक रनको विश्व कीर्तिमाननै बनाए । जसले धोनी आइसिसीको ओडिआई वरियतामा ४२ इनिङमा शीर्ष स्थानमा उक्लिएका थिए ।

सन् २००५ डिसेम्बरमा राहुल द्रविडको कप्तानीमा धोनीले बंगलादेशविरुद्ध टेष्टमा डेब्यु गरे । सन् २००६ मा धोनीले दक्षिण अफ्रिकाविरुद्ध टि२० आईमा डेब्यु गरेका थिए । सन् २००७ मा धोनीको कप्तानीमा भारतले आफ्नो टि२० विश्वकप टोली घोषणा गरेको थियो । उक्त समय सम्म धोनी भारतका उत्कृष्ट फिनिसर विकेटकिपर ब्याट्सम्यान थिए ।

धोनीले विश्वकप फाइनलमा चिरपरिचित पाकिस्तानलाई ५ रनले हराउँदै विश्वकप च्याम्पियन बनाए । यसले धोनी भारतको ओडिआई र टेष्टको कप्तानको दाबेदार बनि सकेका थिए । उक्त टि२० विश्वकप भर धोनीले उत्कृष्ट कप्तानी गरे । त्यो पाकिस्तानसँग समूह चरणको खेलमा बल आउटमा विरेन्द्र सहवागलाई गराउँदा होस् वा फाइनमा अन्तिम ओभर जगिन्दर शर्मालाई बलिङ गर्न दिँदा । धोनीले के निर्णय लिन्छन् भन्ने कसैलाई थाहा हुँदैन थियो ।

धोनी खेलाडीलाई सधैं खुसी मुद्रामा हौसला दिन्थे । अहिलेका कप्तान विराट कोहली जस्तो आक्रामक रुपमा होईन । चतुर दिमागका खानी धोनी शान्त र सालिन स्वभावका थिए । धोनीको कप्तानीमा भारतले सन् २०११ मा एकदिवसिय विश्वकप जित्यो । उक्त विश्वकप फाइनलमा धोनीले ९१ रनमा अविजित रहँदै उत्कृष्ट फिनिसरको परिचय दिएका थिए । उक्त क्रममा धोनीले छक्काका साथ खेल फिनिसिङ गरेका थिए । सन् २०१३ मा धोनीले च्याम्पिन्स ट्रफीको उपाधि दिलाउँदै इतिहास रचे । आइसिसीको तीनै उपाधि जित्ने एक्लो कप्तान बने ।

यी तीन प्रतियोगिताको प्रभाव भारतीय क्रिकेटमा परिसकेको थियो । धोनीले विश्वमा भारतीय क्रिकेटको अनुहार फेरिसकेका थिए । अर्कोतर्फ धोनीले युवा खेलाडी पनि तयार पारेका थिए । धोनीले तीनै शैलीमा उच्च प्रर्दशन गर्दै आएका थिए । कप्तानी, ब्याटिङ वा विकेटकिपर सबैमा धोनीले उच्च प्रर्दशन गरेका थिए । धोनीको कप्तानीमा खोट लगाउने कुनै ठाउँ थिएन ।

त्यसअघि सन् २००९ मा भारतलाई धोनीले पहिलो पटक आफ्नो कप्तानीमा टेष्टको शीर्ष वरियतामा ल्याए । सन् २०१३ मा धोनीले टेष्टमा अष्ट्रेलियाविरुद्ध २ सय २३ रन बनाउँदै भारतीय कप्तानको रुपमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरे । तर सन् २०१४ मा धोनीले एक्कासी टेष्टबाट सन्न्यासको घोषणा गरे र कोहलीलाई कप्तान बनाउने निर्णय गरे ।

अर्कोतर्फ धोनीले ब्याट्सम्यानले चाल नपाउँदै स्टम्पिङ आउट गर्न भ्याइसक्थे । धोनी हतपत रिभ्यु लिदैन थिए । लिएभने त्यो असफल बिरलै हुन्थ्यो । चतुर दिमागका धोनीले विपक्षी टोली र खेलाडीको कमजोरी, पिचको जानकारी तुरुन्त थाहा पाउँदै त्यहि अनुसार सल्लाह दिन्थे । आफ्नो स्वभाव अनुसार नै धोनी मिडियादेखि सधैं टाढा रहे । क्याप्टेन कुल धोनीलाई क्रिकेटका असली जेन्टलम्यान भन्ने गरिन्छ ।

धोनीको अर्को गुण टोली जतिसुकै दबाब र खराब प्रर्दशन गरि रहेको होस् खेलाडीसँग रिसाउदैन थिए । सधै हसिलो अनुहारमा सम्झाउने, सल्लाह र सुझाव दिने गर्दथे । जसले खेलाडीलाई थप राम्रो प्रर्दशन गर्न प्रेरणा मिल्थ्यो । सन् २०१६ मा टि२० विश्वकपमा भारत बंगलादेशसँग हार नजिक पुगेको थियो । बंगलादेशलाई अन्तिम तीन बलमा २ रन चाहिएको अवस्थामा हार्दिक पान्ड्यालाई बोलाएर सुझाव दिएपछि भारतले एक रनको नाटकीय जित हात पारेको थियो ।

सन् २०१७ मा भने धोनीले सिमित ओभरबाट कप्तानी छोड्ने निर्णय लिए । त्यो समय भने धोनी भारतीय क्रिकेटमा केहि आलोचित बनेका थिए । कागजी रुपमा छोडेपनि मैदानमा धोनीकै कप्तानी देखिन्थ्यो । धोनीले आफ्नो करिअरमा सातौं र छैटौं नम्मबरमा बढि ब्याटिङ गरे । तैपनि धोनी ५० को औसतमा ओडिआईमा १० हजार रन बनाउने पहिलो खेलाडी बन्न पुगे । त्यसैले धोनीले शीर्षक्रममा ब्याटिङ गर्थे भने क्रिकेटका धेरै कीर्तिमान तोडिन सक्थे भन्ने तर्क पनि जायज देखिन्छ ।

धोनी स्वयम आफू लामो समय सम्म भारतीय टोलीमा कप्तान हुँदा चाहएको भए शीर्षक्रममा ब्याटिङ गर्नसक्थे । तर धोनीले कहिल्यै पनि व्यक्तिगत रुपमा सोचेनन् । सधैं टोलीको लागि सोचिरहे । त्यसैले त विश्वकै सर्वाधिक सफल कप्तान बन्न पुगे ।

धोनीले ३ सय ५० आडिआईमा २ सय ९७ इनिङ ब्याटिङ गर्दै १० शतक र ७३ अर्ध शतक सहित १० हजार ७ सय ७३ रन बनाए । जसमा कीर्तिमानी सबैभन्दा धेरै ८४ पटक अविजित रहे । सन् २००४ देखि २०१९ सम्म धोनी विश्वकै उत्कृष्ट फिनिसर समेत बने । धोनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी हुन् ।

धोनीले टेष्ट, ओडिआई र टि२०आई गरि कुल ३ सय ३२ खेलमा कप्तानी गरेका छन् । धोनीले समग्रमा ५ सय ३८ अन्तर्राष्ट्रिय खेलमा १७ हजार २ सय ६६ रन बनाए । जसमा १६ शतक र १ सय ८ अर्ध शतक सामेल छ । ३ सय ५९ छक्का र विकेटकिपरको रुपमा क्याच र स्टम्पिङ गरि कुल ८ सय २९ लिए । टि२० आईमा सर्वाधिक कप्तानी, स्टम्पिङ र क्याच आउट गराउने खेलाडी हुन् । सर्वाधिक टि२० विश्वकपमा नेतृत्व गर्ने कप्तान समेत हुन् । विश्व क्रिकेटमा धोनीमा नाममा थुप्रै कीर्तिमानको माथि कीर्तिमान छन् ।

धोनीले सुरुवात देखिनै इन्डियन प्रिमियर लिग ९आइपिएल० मा चेन्नई सुपर किंग्सको कप्तानी गर्दै आएका छन् । चेन्नईलाई आइपिएलकै सर्वाधिक सफल टोली बनाउने क्रममा तीन पटक उपाधि दिलाए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपनि धोनीले सन् २०२२ सम्म चेन्नईबाट आइपिएल खेलिरहने छन् ।

धोनीको उत्कृष्ट फिनिसिङ अझै दुई वर्ष समर्थकले देख्ने छन् । धोनी भारत नभएर विश्वकै उदाहरणीय खेलाडी हुन् । धोनी आफूसँग जेजस्तो खेलाडी छ त्यसैले उत्कृष्ट बनाउदै उत्कृष्ट नजिता निकाल्न खोज्थे । धोनी भारतीय टोलीलाई विश्वकप जिताउँदै सन्न्यास लिन चाहान्थे । तर त्यो सपना भने अधुरै रह्यो ।

सायद सन् २०१९ मा भारतले विश्वकप जित्थ्यो भने त्यसैबेला सन्न्यास लिन्थे होला । धोनीले अष्ट्रेलियामा २०२० अक्टोभर नोभेम्बरमा हुने टि२० विश्वकप खेल्दै सन्न्यास लिने सोचमा थिए । तर कोरोनाको कारण टि२० विश्वकप सरेपछि धोनीले भारतीय टोलीबाट बिदा लिने निर्णय गरेका हुन् ।
धोनीले सन्न्यास लिने निश्चित थियो । यति मात्र हो कहिले र कसरी लिन्छन् भन्ने कसैलाई थाहा थिएन । धेरैको ध्यान यस पटकको आइपिएलमा कस्तो प्रर्दशन गर्छन् त्यसपछि थाहा हुन्छ भन्ने थियो ।

कम्तिमा धोनीले अन्तिम बिदाई खेल खेल्नुपर्ने थियो भन्ने धेरै समर्थकको धारणा छ । धोनीकै कप्तानीको कारण भारत आज यो स्थानमा आएको छ । धोनीको पथमा विराट हिड्न सके भारत विश्वमा अझ उत्कृष्ट टोली बन्ने छ । भलै धोनी अव भारतीय जर्सीमा मैदानमा देखिने छैनन् । तर धोनीको रिभ्यु, फिनिसिङ, विकेटकिपर र कप्तानीले उनलाई सम्झाई राख्ने छ ।

भारत नभएर विश्व क्रिकेटलेनै उत्कृष्ट कप्तान पाएको थियो । उनी आधुनिक क्रिकेटका महान खेलाडीमध्यमा गनिन्छन् । भारतलाई मात्र होईन विश्व क्रिकेटलाईनै लामो समय सम्म धोनीको अभावको महसुस हुने देखिन्छ । विश्व क्रिकेटमा धोनीले सफलताको त्यस्तो छाप छोडेका छन् जसले उनको नाम नलिँदा इतिहास सधै अधुरै बन्न पुग्छ ।

प्रकाशित मिति: १ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्