सहायक रथी राणासहित तीन जना बर्खास्त
काठमाडौं, भदाैँ १
नेपाली सेनाका सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल बर्खास्त भएका छन् । सैनिक प्रहरीले राणा र सिलवाललाई भ्रष्टाचार अभियोगमा गत जेठ पहिलो साता पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जंगी अड्डाले गठन गरेको समरी जनरल सैनिक अदालतले उनीहरूलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको हो ।
उपरथी सीताराम खड्काको अध्यक्षतामा उक्त अदालत गठन गरिएको थियो । अदालतले राणाले १ करोड ५२ लाख २७ हजार ३ सय रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७८ हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । उक्त रकम राणा र सिलवालबाट असुल गर्न भनिएको छ ।
उनीहरूले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको ठहर अदालतले गरेको छ । सोही प्रकरणमा सैनिक अदालतले प्रमुख सुबेदार मिठुराम विश्वकर्मालाई पनि बर्खास्त गर्ने फैसला गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सहसेनानी लक्ष्मीकान्त खनाल, सुबेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला सुनाइएको छ । प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिन भनिएको छ । महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार नवराज पाण्डे (अवकाश प्राप्त) ले सफाइ पाएका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
प्रकाशित मिति: १ भाद्र २०७७, सोमबार