कार्यकर्ता रिझाउन देउवाले चाले यस्ताे चाल


 


काठमाडौँ, साउन २७
पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन गरेका छन् । उनले आइतबार राति ११ बजे १० र सोमबार अपराह्न थप ५ विभाग गठन गरेका हुन् । महाधिवेशनको मुखमा कार्यकर्ता रिझाउन विभागहरू गठन गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ ।

देउवा ०७२ फागुनमा सम्पन्न १२ औं महाधिवेशनबाट पार्टी सभापतिमा चयन भएका हुन् । विधानअनुसार उनको चार वर्षको नियमित कार्यकाल गत फागुनमै सकिएको छ । नियमित महाधिवेशन गराउन नसकेपछि केन्द्रीय कार्यसमितिको बहुमतले विधानको सुविधा प्रयोग गर्दै थप एक वर्ष कार्यकाल बढाइसकेको छ । नेता शेखर कोइरालाका अनुसार महाधिवेशन गर्नका निम्ति एक वर्ष समय थपिएको हो । नियमित कार्यकाल सकिएको र महाधिवेशनको कार्यतालिकासमेत घोषणा भइसकेको अवस्थामा सभापति देउवासहित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरू कामचलाउ हैसियतमा छन् ।

महाधिवेशनको प्रक्रिया अघि बढिसकेका बेला कामचलाउ हैसियतमा रहेका सभापति देउवाले पूर्ण कार्यकारी हैसियतमा जस्तै केन्द्रीय विभागहरूको गठन, मनोनयन र नियुक्ति गर्न नमिल्ने कोइराला बताउँछन् । ‘एकातिर विधानको ठाडो उल्लंघन भएको छ, अर्कोतर्फ पार्टी नेतृत्वले आफ्नो चुनावी अनुकूलताका लागि पद बाँड्ने काम गरिरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘सभापतिजीले मनोनयन गरेका सबै साथीहरू कांग्रेसकै हुन् । हाम्रा पनि साथी नै हुन् । व्यक्तिगत रूपमा उनीहरूलाई ल्याएकामा कुनै विरोध छैन तर पार्टी हाँक्ने नेतृत्वलाई विधि, पद्धति र विधानविपरीत गएर मनपरीतन्त्र गर्ने अधिकार छैन । यसलाई हामी महाधिवेशनमा मुद्दा बनाउँछौं ।’ विधानअनुसार चल्ने हो भने सभापति देउवाले पार्टीका केन्द्रीय विभागलगायत सबै निकाय दुई महिनाभित्र (तत्कालीन विधानअनुसार) गठन गरिसक्नुपर्ने थियो ।

०७२ फागुनमा निर्वाचित भई चैत पहिलो सातादेखि देउवाले पार्टीको विधिवत् जिम्मेवारी सम्हालेका थिए । त्यस हिसाबले जेठ पहिलो सातामै यी सबै काम सक्नुपर्थ्यो । तर, केही केन्द्रीय सदस्यको मनोनयनबाहेक उनले कुनै पनि काम अघि बढाएनन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्