कोरोना कहर : हवाई उडान र लामो दूरीका सवारी तत्काल संचालन नहुने


 



काठमाडौं, साउन २६
आन्तरिक तथा बाह्य उडान र अन्तर जिल्ला यातायात सञ्चालन गर्ने समय पर सरेको छ । आइतबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले आगामी भदौ १५ गतेसम्म स्थगन गर्न प्रस्ताव गरेको हो ।

गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा बाह्य हवाई उडान, शिक्षण संस्था र लामोदूरीका यातातायत संञ्चालन गर्ने निर्णय गरेको थियो । तर साउन ७ देखि लकडाउन खुला गरे सँगै कोरोना भाइरसको संक्रमण र जोखिममा बृद्धि हुदैं गएको भन्दै सीसीएमसीले भदौ १५ सम्म रोक लगाउन प्रस्ताव गरेको छ ।

संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको जोखिम बढिरहेको अवस्था भएकाले हवाई उडानमा थप १५ दिन सम्म थप स्थगन गर्ने प्रस्ताव गरिएको बताए । सीसीएमसीले गरेको प्रस्ताव सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।

यसका साथै, बैंक एवं विभिन्न संघ संस्थामा ५० प्रतिशत कर्मचारीले पालै पालो गरि सेवा सुविधा दिन भनिएको छ । कोरोना भाइरसको नियन्त्रण र रोकथाम विषयमा बैंठकले उपत्यका मेयरहरुसँग पनि छलफल गर्ने जनाइएको सीसीएमसीका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

उनले स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुरुप लागू गर्न पनि जोड दिएको छ । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नको लागि चैत ११ बाट लकडाउन गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय उडानमा चैत ९ देखि र आन्तरिक उडानमा चैत ११ बाट प्रतिबन्ध लगाएको थियो । कारोबार दैनिक

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्