कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो


 


काठमाडौँ, साउन २१
कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ ।

कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी एक लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ४७ लाख ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिन्छ । पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरुमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या एक करोड ८५ लाख नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी निको भएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा विभिन्न मुलुकले गरेका अनुसन्धानहरुमा आशा गर्ने ठाउँ भए पनि कहिले बन्छ भनेर भन्न नसकिने बताएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडहानोम गेहब्रेयससले कोरोनाको खोप निर्माण ‘जादुको छडी’ नभएको बताएका छन् । उनले कोरोनाविरुद्धको खोप कहिल्यै नबन्ने सम्भावना पनि रहेको उल्लेख गर्दै मास्कको प्रयोग र सामाजिक दूरी भौतिक दूरी नै संक्रमण रोकथामको उत्तम विकल्प भएको बताएका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्