सन्दीप लामिछाने १४ दिन क्वारेन्टिनमा


 


काठमाडाैँ, साउन १९
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो ।

सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ । “प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु परेको हो”, उहाँका व्यवस्थापक रमन शिवाकोटीले भने । यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्ने उनले बताए। “पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ”, उनले भने।

सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो जानुभएको हो । सरकार र अन्य विभिन्न निकायको सहयोगमा उहाँ टोबागो जान सफल भएका हुन् । टोबागो उड्नुअघि सन्दीपले गत मङ्गलबार पीसीआर परीक्षण गराएका थिए । उनको सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएपछि मात्र टोबागो उड्न सहज भएको व्यवस्थापक शिवाकोटीले बताए । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेका कारण केही समय सन्दीपले सीपीएल खेल्नेबारे अन्योल भएको थियो ।

सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका हुन् । उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो । उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सीपीएल खेलेका थिए ।

प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्