‘उपाध्यक्ष गौतमको प्रस्ताव समाधानको आधार’


 


काठमाडौँ, साउन १७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको आन्तरिक विवादलाई पार्टी उपाध्यक्ष वामदेव गौतमको प्रस्तावले नयाँ मोड दिएको छ । ‘पार्टी बिग्रह तत्काल रोक्नका लागि’ भन्दै उपाध्यक्ष गौतमले सहमतिका छ बुँदे अवधारणा सार्वजनिक गर्नुभएपछि पार्टीभित्रको विवादमा नयाँ सहमतिको आशा पलाएको हो । यही प्रस्तावका आधारमा विवाद समाधान गर्दै एकता महाधिवेशनसम्म पुग्न सकिने नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

उपनेता नेम्वाङले गोरखापत्रसँग कुराकानी गर्दै भन्नुभयो, “प्रस्ताव राम्रो छ, त्यसलाई आधार बनाएर सहमतिमा अगाडि बढ्न सकिन्छ ।” साउन १३ गते नेता गौतमले सहमतिका छ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । उहाँले पार्टीको एकता महाधिवेशनसम्म अध्यक्षसहित पाँच वर्षका लागि केपी शर्मा ओली प्रधानमन्त्री रहने प्रस्ताव गर्नुभएको छ । यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, सहमतिमा पार्टीको एकता महाधिवेशन आयोजना गर्ने, प्रधानमन्त्रीको दैनिक काममा पार्टीले हस्तक्षेप भन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महìवका विषयमा परामर्श गर्ने प्रस्तावमा उल्लेख छ ।

नेता नेम्वाङले फरक धार र उत्कर्षबाट अगाडि बढेका दुई कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया नै सहमतिबाट भएको चर्चा गर्दै भने, “पार्टी एकतासम्बन्धी बाँकी काम एकता र सहमतिको महाधिवेशनबाट हुन्छ ।”

उनले भने, “पार्टी विधानमै एकता र सहमतिको महाधिवेशन हुने उल्लेख गरिएको छ । दुई अध्यक्षबीचको सहमति र एकताको विकल्प नै छैन ।” नेता नेम्वाङले थप्नुभयो, “दुई पार्टीबीचको एकताको आधार सहमति हो । दुई अध्यक्षले पार्टीको नेतृत्व गर्नुहुन्छ, यो प्रस्ट छ । यो कुरालाई हेक्का राख्नुपर्छ ।” उहाँले पार्टीभित्र अल्पमत र बहुमत भन्ने प्रश्न पार्टी एकताको मान्यताविपरीत भएको समेत बताए ।

उनले भने, “हाम्रा दुई अध्यक्ष कोही पनि अल्पमतमा पर्न सक्नुहुन्न । अहिलेको पार्टीको विधि, प्रक्रिया र मान्यता भनेको एकता र सहमति हो ।” उहाँले एकता र सहमतिभन्दा फरक ढङ्गले अगाडि बढ्न खोज्यौँ भने त्यो एकता र सहमति त्यही बिन्दुबाट भत्कने समेत बताउनुभयो । उपनेता नेम्वाङले सचिवालयको बैठकले सर्वसम्मत रूपमा चैत अगाडि पनि महाधिवेशनमा जान सकिने भनेर गरेको निर्णय भएको भोलिपल्टैदेखि पुनः विवाद सुरु भएको स्मरण गर्नुभएको समाचार आजको गोरखापत्रले छपेको छ ।

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्